एजेन्सी– अमेरिकाको भर्जिनियास्थित रिचमण्ड शहरमा सात जनामाथि गोली प्रहार भएको छ।


ADVERTISEMENT


द न्यूयोर्क टाइम्सका अनुसार मंगलबार साँझ सवा ५ बजे अल्‍ट्रिया थियटरमा हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।


ADVERTISEMENT

# # #


गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रिचमन्डका प्रहरी प्रमुख रिक एडवार्ड्सले अन्धाधुन्ध चलेको गोली लागेर सात जना घाइते भएका र तीमध्ये तीनको अवस्था गम्भीर रहेको बताएका छन्।

उनका अनुसार गोली चलेको समयमा प्रहरीहरू दीक्षान्त समारोहस्थलमा थिए। गोली चलेको आवाज सुनिनासाथ घटनास्थल पुगेर दुई जनालाई नियन्त्रमा लिइएको उनले बताएका छन्।

अन्धाधुन्ध गोली चलेपछि भागदौड हुँदा दर्जनौं घाइते भएका छन्। भाग्ने क्रममा एक व्यक्तिलाई कारले  ठक्कर दिएको थियो।

घाइतेहरूको प्राथमिक उपचारका लागि तत्कालै स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेका थिए। उनीहरूले घाइतेलाई सिपिआर दिइरहेका दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले गोलिकाण्ड दीक्षान्त समारोह लक्षित हो कि होइन भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेको  बताएको छ।

रिचमण्ड पब्लिक स्कुलका प्रवक्ता म्याथ्यु स्टानलीका अनुसार ह्युगुएनोट हाइस्कुलका विद्यार्थीहरूको दीक्षान्त समारोहलगत्तै गोली चलेको थियो। स्कुलकै सदस्य जोनाथन योंगका अनुसार  समारोहमा तीन सय जना दिक्षित भएका थिए।  त्यतिबेला आफूले २० राउन्ड  गोलीको आवाज सुनेको न्यूयोर्क टाइम्सलाई बताएका छन्।