काठमाडौं-निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका आज सार्वजनिक गर्दैछ ।


ADVERTISEMENT


सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


माघ ७ देखि निर्वाचन हुने माघ २४ गतेसम्म लागु हुने गरी कार्यतालिका आज अपरान्ह सार्वजनिक गर्न लागिएको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिएका छन् । निर्वाचन कार्यक्रमसँगै आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताको समेत नामावली प्रकाशित गर्ने जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा कुल २ हजार ५६ मतदाता रहनेछन् । उनीहरुमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयर गरी १ हजार ५ सय ६ तथा प्रदेश सभाका सांसद ५ सय ५० रहेका छन् । राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको एक भोट बराबर समान १८ मतभार कायम गरिएको छ । प्रदेश सभासद्को मतभार भने एक भोट बराबर ४८ कायम गरिएको छ । यसले राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहको मतभार २७ हजार १ सय ८ र प्रदेश सभाबाट २६ हजार ४ सय रहनेछ । निर्वाचनमा सम्पुर्ण मतदाताको कुल मतभार भने ५३ हजार ५ सय ८ हुने प्रबक्ता ढकालले बताएका छन् ।