काठमाडौं – सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । गुल्मीको धुर्कोट गाउँपालिका–६ मा २०२८ साल मंसिर १९ गते जन्मिएका भण्डारी अर्थशास्त्र, मौद्रिक नीति तथा बैंकिङ क्षेत्रका अनुभवी व्यक्तित्व हुन् । उनले नेपालको केन्द्रीय बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव हासिल गरेका छन् ।
भण्डारीले सन् २०१८ अप्रिलदेखि २०२५ अप्रिलसम्म नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । राष्ट्र बैंकमा रहँदा उनले गैरबैंकिङ वित्तीय संस्था सुपरीवेक्षण, मौद्रिक व्यवस्थापन, वित्तीय संस्था सुपरीवेक्षण, जनशक्ति व्यवस्थापन तथा संस्थागत योजना र जोखिम व्यवस्थापनलगायतका विभागको नेतृत्व गरेका थिए ।
त्यसअघि आर्थिक अनुसन्धान विभागमा निर्देशकका रूपमा काम गरेका भण्डारीले राष्ट्र बैंकका जनकपुर र नेपालगञ्ज कार्यालयमा समेत व्यवस्थापक तथा उपव्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए । मौद्रिक नीति, पुँजी बजार, वैदेशिक व्यापार तथा भुक्तानी सन्तुलनसम्बन्धी क्षेत्रमा समेत उनको अनुभव छ ।
केन्द्रीय बैंकिङ अनुभवसँगै भण्डारीले विभिन्न वित्तीय संस्थाको सञ्चालक तथा नीतिगत तहमा पनि काम गरेका छन् । उनले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म सदस्यका रूपमा काम गरेका थिए । त्यस्तै, सन् २०१९ देखि २०२० सम्म निक्षेप तथा कर्जा सुरक्षण कोषकै सञ्चालक रहेका उनी नेपाल ग्रामीण विकास बैंकको सञ्चालकसमेत भएका थिए ।
शैक्षिक क्षेत्रमा पनि भण्डारीको उपलब्धि उल्लेखनीय छ । उनले सन् १९९६ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेका उनले महेन्द्र विद्याभूषण ‘ख’, तारापद चौधरी स्वर्ण पदक र खगेन्द्रमान सिंह प्रधान स्वर्ण पदक प्राप्त गरेका थिए ।
त्यसपछि उनले बेलायतस्थित ब्राडफोर्ड विश्वविद्यालयबाट सन् २००६ मा अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । सन् १९९८ देखि २००० सम्म पाटन बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकका रूपमा अध्यापनसमेत गरेका भण्डारीले अन्तर्राष्ट्रिय मुद्रा कोष, फेडरल रिजर्भ बैंक अफ न्यूयोर्क, एसियाली विकास बैंक र स्विस नेसनल बैंकलगायतका संस्थाबाट मौद्रिक नीति तथा वित्तीय व्यवस्थापनसम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।
आर्थिक अनुसन्धानमा समेत रुचि राख्ने भण्डारीका नेपालको सम्भाव्य उत्पादन, उत्पादन अन्तर तथा लगानीसम्बन्धी अनुसन्धानपत्र प्रकाशित छन् । मौद्रिक नीति, वित्तीय स्थायित्व र अर्थतन्त्रको संरचनासम्बन्धी विषयमा उनको विशेष दख्खल रहेको छ ।
करिब २५ वर्षको केन्द्रीय बैंकिङ अनुभव, शैक्षिक उत्कृष्टता तथा वित्तीय क्षेत्रको नीतिगत र संस्थागत व्यवस्थापनमा हासिल गरेको अनुभवसहित कोषको नेतृत्वमा पुगेका भण्डारीसामु निक्षेप सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा कर्जा सुरक्षण व्यवस्थालाई सुदृढ गर्ने जिम्मेवारी रहनेछ ।


























