काठमाडौं-एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।


ADVERTISEMENT


शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिएका छन् । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन । भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । आज १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ ।


ADVERTISEMENT

# # #


गौतमका अनुसार कम्तीमा दुई हजार ५०० मिटर दूरी (तेस्रोे) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो र ३०० मिटर ठाडो मात्रै भिजिवलिटी रहेको गौतमले बताएका छन् । शनिबारभन्दा आज अलि राम्रो भएकाले उडान हुने आशा रहेको गौतमको भनाइ छ ।

भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ । बुद्धले काठमाडौँ, भरतपुर छदेखि सात वटासम्म उडान भर्छ । केही महिनादेखि बुद्धले पोखरामा समेत दुई वटा उडान भर्दै आएको छ । सिम्रिकको चितवन–काठमाडौँ एउटा उडान छ भने यतिको चार वटा उडान हुन्छ । भरतपुर विमानस्थलमा दैनिक ५०० यात्रु हवाई यात्रामा जाने गरेको विमानस्थलले जनाएको छ ।

बुद्धको आज १२ बजेसम्म पाँच वटा उडान भर्नुपर्ने थियो तर अहिलेसम्म एउटा पनि उडान भएको छैन । हिजैका यात्रु उडाउनुपर्ने अवस्था छ । “अब दिउँसो विमान चल्छ कि भन्ने आश लागेको छ”, बुद्ध एयर चितवनका प्रबन्धक भक्तबहादुर बस्नेतले बताए । उनका अनुसार हावा चलेर घाम लागेमा उडान हुन्छ ।

शनिबारदेखि चितवनमा घामसमेत लागेको छैन । वातावरण धुम्म छ । चितवनबाट काठमाडौं जाने तयारीमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलेसमेत उडान नहुँदा शनिबारको हवाई यात्रा स्थगित गरेको उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए।

चिसोले मानिसको आवतजावत तथा हिँडडुलमा समेत कमी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।