ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुमा ‘लुभु म्युजिक फेस्टिभल–२’ आयोजना हुने भएको छ । नेवा: संस्कृति, कला, संगीत र सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल संवत् ११४७ र तिहारको अवसरमा ललितपुर, महालक्ष्मी–८ को लुभुमा ‘लुभु म्युजिक फेस्टिभल–२, २०२६’ सांगीतिक महोत्सव हुन लागेको हो ।

झी नेवाः पुचः, लुभुको आयोजनामा कात्तिक २४ गते (नोभेम्बर १०, २०२६) मंगलबार कार्यक्रम हुने संयाेजक बिजेन महर्जनले जानकारी दिए ।


ADVERTISEMENT

#


महोत्सवको दोस्रो संस्करणलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारीस्वरूप आयोजकले प्रायोजन प्रस्तावसमेत अघि सारेको छ ।

संगीत र सांस्कृतिक गतिविधिमार्फत स्थानीय कला, मौलिक पहिचान तथा सामाजिक एकतालाई प्रोत्साहन गर्ने यस्ता महोत्सवले स्थानीय प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पर्यटन तथा आर्थिक गतिविधि प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।


ADVERTISEMENT

#
#


आयोजकका अनुसार महोत्सवमा बिभूति, रोजमन महर्जन र निशा देशारलगायत कलाकारले प्रस्तुति दिनेछन् । कार्यक्रममा स्थानीय ब्यान्ड, अतिथि कलाकार, सांस्कृतिक नृत्य, खाना तथा पेयपदार्थका स्टल र फोटो बुथ पनि रहनेछन्। महोत्सवले मुख्यतः विद्यार्थी, युवा, सङ्गीतप्रेमी, परिवार र सामाजिक सञ्जालमा सक्रिय दर्शकलाई लक्षित गरेको छ ।

आयोजकका अनुसार लुभु वरिपरिको सडकमा मञ्च तयार पारिनेछ । करिब १ हजार जनाले प्रत्यक्ष कार्यक्रम हेर्न सक्ने र वरिपरि थप ३ हजार जना दर्शक पुग्ने अनुमान छ । कुल दर्शक संख्या ५ हजारभन्दा बढी हुने उल्लेख छ ।

नेवार समुदायको कला, संस्कृति, परम्परा, परिकार, हस्तकला र स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । यसले नयाँ पुस्तामा नेपाल संवत्, म्ह पूजा र नेवा परम्पराबारे चेतना बढाउने, उदीयमान स्थानीय कलाकारलाई मञ्च दिने, स्थानीय व्यवसायीलाई आम्दानीको अवसर दिने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ ।

आयोजक संस्था झी नेवाः पुचः २०७६ सालमा लुभुका उत्साही युवाले स्थापना गरेको गैरनाफामूलक, युवा नेतृत्वको संस्था हो । संस्थाले सांस्कृतिक कार्यक्रम, सामाजिक चेतनामूलक अभियान, सङ्गीत कार्यक्रम, खेलकुद र सामाजिक कल्याणका गतिविधि सञ्चालन गर्दै आएको छ ।
नेपाल संवत् ११४७ को अवसरमा संस्थाले लुभु म्युजिक फेस्टिभल–२ का अतिरिक्त अन्य कार्यक्रम पनि तय गरेको छ:

कात्तिक २२ गते (आइतबार): दिउँसो २ बजे, भगवती लाछी, लुभु
कात्तिक २३ गते (सोमबार): बेलुका ६ बजे सुकुन्दा/मैनबत्ती र्‍याली
कात्तिक २४ गते (मंगलबार): बिहान ७ बजे न्ह दँ भिन्तुना र्‍याली
कात्तिक २४ गते (मंगलबार): बिहान १०:३० देखि दिउँसो २:३० बजेसम्म रक्तदान कार्यक्रम