काठमाडौँ– नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले सरकारले चाँडै प्रदेश प्रमुख नियुक्त गर्नेगरि आन्तरिक गृहकार्य सुरु गरिसकेको स्पष्ट पारेका छन्।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खाँणले भने,‘सरकारले प्रदेश प्रमुख तोक्ने गृहकार्य सुरु गरिसकेको छ, धेरै अघि नै भैसक्थ्यो तर वाम गठबन्धनका नेताहरुले हामी यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुबाट सपथ नै खाँदैनौं भनेर भन्नुभएकोले ढिलाई भएको हो, अब फेरी हालै भएको प्रमुख दलहरुको बैठकमा उहाँहरुले यो काम त सरकारको हो भनेर जिम्मेवारी दिनुभयो, अब हामी प्रक्रिया अघि बढाउँछौं।’


ADVERTISEMENT

# # #


रिपोर्टस् क्लबमा बोल्दै उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल साझा व्यक्तित्व, समाज र देशको लागि योगदान पुर्याएका लब्धप्रतिष्ठित महानुभावहरुलाई नियुक्त गर्नुहोस् भनेर सुझाव दिएको पनि जनाए । उनले भने,‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु चाहीँ नियुक्त नगर्न हामीले सुझाव दिएका छौं, लब्धप्रतिष्ठित व्यक्तिलाई ल्याउँदा राम्रो निर्णय हुन्छ भनेका छौं, जनतालाई पनि यो सरकारले राम्रो मान्छेलाई ल्यायो भनेर छाप परोस् भन्ने हाम्रो सुझाव छ, सायद प्रधानमन्त्रीले चाँडै नै नियुक्त गर्नुहुन्छ।’

नेता खाँणले अस्थायी राजधानी तोक्ने तयारीमा समेत सरकार जुटिरहेको सुनाए । उनले थपे,‘प्रदेशको अस्थायी राजधानी तोक्नेगरि आन्तरिक गृहकार्य सुरु भैसकेको छ, हामीले त कामचलाउ मात्रै तोक्छौं, तर प्रदेशको राजधानी त प्रदेश सभाले मात्रै तोक्ने संवैधानिक प्रावधान छ, हामी पनि त्यही अनुसारको कामचलाउ राजधानी तोक्छौं, ताकि सपथग्रहण गर्न सजिलो होस्।’ निर्वाचनमा पार्टी हार्नुको कारणबारे तत्काल केन्द्रिय कार्यसमितिको बैठक आह्वान गरेर समिक्षा गरिने पनि उनको भनाई थियो ।

उनले सरकार, प्रधानमन्त्री देउवा वा निर्वाचन आयोगको कारणले नयाँ सरकार गठनमा ढिलाई नभएको पनि स्पष्ट पारे । खाँणले थपे,‘हामी चाँडोभन्दा चाँडो नयाँ सरकार गठन होस् भन्ने चाहाना राख्छौं, तर हाम्रोमात्रै चाहानाले केही हुँदैन्, संवैधानिक प्रावधान अनुसार चल्नुपर्छ।’ उनले सरकार संविधानको आधारमा सरकार निर्माण हुने जिकिर गर्दै भने,‘निर्वाचन सम्पन्न भएको छ, प्रतिनिधि सभामा वाम गठबन्धनले सफलता प्राप्त गरेको छ, निर्वाचनमा झैं उहाँहरु मिल्नुभयो भने वाम गठबन्धनको सरकार बन्छ, सरकार निर्माणमा हाम्रो सहयोग रहन्छ।’