काठमाडौं-नागरिक अभियन्ता डा. गोविन्द केसीलाई छापामार शैलीमा पक्राउ गरेर हिरासतमा राखिएको प्रति सरकारकै नेतृत्वमा रहेका कांग्रेसलगायत प्रमुख राजनीतिक दलले विरोध जनाएका छन् । कानुनका नाममा अदालतको नेतृत्वकर्ताबाटै केसीमाथि ज्यादती भएको उनीहरूको निष्कर्ष छ ।


ADVERTISEMENT


अदालत ‘भगवान’ नभएर राज्यकै एउटा अंग रहेको भन्दै नेताहरूले अदालतभित्र लुकेका भ्रष्टाचार बाहिर आउलान् भन्ने भयकै आधारमा केसीमाथि मानहानिको मुद्दा लगाएर छापामार शैलीमा गिरफ्तारी गरिएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केसी पक्राउबारे सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका देउवाले केसी पक्राउ परेलगत्तै प्रहरी महानिरीक्षकलाई फोन गरी असन्तुष्टि जनाएका थिए । न्यायालयको नेतृत्वकर्ताबाटै बारम्बार पक्रन दबाब दिइएपछि केसीलाई पक्राउ गरिएको जवाफ प्रहरी महानिरीक्षकले प्रधानमन्त्री देउवालाई दिएको बालुवाटार स्रोतले जनायो ।

एमाले सचिव प्रदीप ज्ञवालीले अदालतले पूर्वाग्रह राखेर केसीलाई रातरात पक्राउ गरेको बताए । ‘एक रात भए पनि जानीबुझी थुन्ने उद्देश्य देखिन्छ । उहाँले राखेका माग र भनाइसँग कसैको सहमति वा असहमति आफ्नो ठाउँमा होला तर एउटा सम्मानित नागरिकलाई गरिने व्यवहार गलत भयो,’ ज्ञवालीले भने ।

उनले अदालतको सम्मान बल प्रयोग गरेर वा सेना, पुलिस परिचालन गरेर आर्जन नहुने बताए । पछिल्ला समयमा अदालतका निर्णय विवादास्पद हुन थालेको र यसले सर्वसाधारणमा अदालतमा न्याय हराउन थालेको महसुस भइरहेका बेला यस्तो निर्णय आउनुले अदालत त्यस्तो होइन भन्ने पुष्टि हुन नसकेको बताए ।

‘यो घटनामा अदालतको पूर्वाग्रह छ । प्रधानमन्त्रीलाई नै केसीको पक्राउबारे थाहा छैन भन्ने कुरा बाहिर आएको छ, यो हास्यापद छ । प्रधानमन्त्रीको जानकारीबिना कुनै सम्मानित नागरिक पक्राउ पर्छ भने देश कसले चलाइरहेको छ ?’ ज्ञवालीले भने, ‘यो विषयबाट जोगिन प्रधानमन्त्रीले यस्तो कुरा गर्नुभएको भए त्यो पनि आपत्तिजनक हो ।’

बालुवाटार स्रोतले भने प्रधानमन्त्रीलाई जानकारी नभएको मंगलबार पनि दोहोर्‍याएको छ । ‘प्रधानमन्त्रीलाई केसी पक्राउ भएको समाचार आएपछि मात्रै जानकारी भएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘प्रधानमन्त्री रातारात केसीलाई पक्राउ गरिएको घटनाबाट असन्तुष्ट हुनुहुन्छ ।’

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केसीको रातारात गिरफ्तारीलाई ‘कानुनको नाममा गरिएको ज्यादती’ भनेका छन् । ‘अदालतको मानहानिलाई सत्याग्रहीविरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत भगवान होइन,’ श्रेष्ठले भने, ‘राज्यको पुनस्संरचना गर्दा न्यायालयलाई यथावत् राखियो, त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझून् ।’

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने अदालतको क्षेत्राधिकारमा मुद्दा पुगिसकेपछि संविधान र विधिसम्मत ढंगले केसीका मागमा सम्बोधन हुनुपर्ने बताए । ‘शिक्षा र स्वास्थ्य सुधारका लागि लडै आएका केसीका मागलाई राज्य र न्यायालयले समेत सम्मानसाथ सम्बोधन गर्नुपर्छ,’ खाँडले भने, ‘अबको उपाय विधि र संविधानको बाटो हो । त्यही बाटोबाट समाधान खोजिनुपर्छ ।’

कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र यसबारे औपचारिक छलफल नभए पनि विधिसम्मत ढंगबाट केसीको माग सम्बोधन गर्नेतर्फ कांग्रेसको भूमिका रहने बताए ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले न्यायालयको गलत मनसायकै कारण केसीलाई रातरात पक्राउ गरिएको बताइन् । ‘हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता छ । त्यसैले कसैले केही भन्नेबित्तिकै मानहानि हुन्छ भन्ने छैन ।

डा. केसीलाई मध्यरातमा जसरी पक्राउ गरियो, यसभित्र गलत मनसाय छ,’ उनले भनिन्, ‘कार्यपालिका र व्यवस्थापिकाका काममा प्रश्न उठ्ने गरेको थियो, तर न्यायालयभित्र पनि अहिले राम्रा काम नभएकाले प्रश्न उठ्न गरेका हुन् । न्यायाधीशहरूका पनि गलत काम हुन सक्छन् । त्यसैले कसैले प्रश्नै गर्न नपाउने भन्ने हुँदैन ।’ उनले हठात गिरफ्तार गर्नु गलत रहेको र न्यायालयभित्र पनि भ्रष्टाचार रहेको बताइन् ।