काठमाडौं-नेपाल धितोपत्र बोर्डले अग्रवाल र श्रीहरि सेक्युरिटिज प्रालिलाई हाइड्रोपावर कम्पनीहरुको नक्कली सेयर कारोबार प्रकरणमा १०–१० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । सोही कसूरमा यी कम्पनीका कार्यकारी प्रमुखलाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरेको बोर्डले जनाएको छ । सोही प्रकरणमा बोर्डले अर्को दलाल कम्पनी सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवाना र यसका कार्यकारी प्रमुखलाई सचेत गराएको छ ।


ADVERTISEMENT


बोर्डको गत शुक्रबार बसेको बैठकले धितोपत्र व्यवसायी दलाल कम्पनी र ती कम्पनीका कार्यकारी प्रमुखलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्रसम्बन्धी ऐन अनुसार कारबाही प्रस्ट पारेको छ ।


ADVERTISEMENT

# # #


बोर्डले चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली सेयर खरिद–बिक्री गरेकोमा अग्रवाल सेक्युरिटिज प्रालिलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार १० लाख रुपैयाँ जरिवाना गरेको हो ।

श्रीहरि सेक्युरिटिज भने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली सेयर कारोबार प्रकरणमा सोही ऐन अनुसार कारबाहीमा परेको हो । बोर्डले तीनवटै कम्पनीलाई सोमबार कारबाहीको पत्र पठाएको छ । अग्रवाल सेक्युरिटिजका कार्यकारी प्रमुख भुवनेश्वर यादवले कारबाहीबारे आफूलाई जानकारी नभएको बताए ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार अहिलेसम्म कै ठूलो कारबाही भएको धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले जानकारी दिए । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार दुई कम्पनीलाई १०–१० लाख रुपैयाँ जरिवाना गरिएको छ,’ उनले भने, ‘करिब दुई वर्षको अध्ययन, अनुसन्धानपछि बोर्डले यस्तो कारबाही गरेको हो ।’ बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार कसूरको मात्रा हेरी ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

नक्कली सेयर कारोबारी गोविन्द घिमिरेविरुद्ध भने बोर्डले गत असार २३ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । बोर्डले आफैंले गरेको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डका तहकिकात अधिकारीबाट स्वीकृति लिई घिमिरेविरुद्ध मुद्दा हालेको जनाएको छ ।

श्रीहरि र अग्रवालका प्रमुख कार्यकारी ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखी सो सम्बन्धी कानुनी व्यवस्था पालना नगर्दा बोर्डको कारबाहीमा परेका हुन् । उनीहरुलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरेको बोर्डको भनाइ छ ।

झुटा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाई बोर्डले ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेकोले श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम जरिवाना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिप्रवी सेक्युरिटिज प्रालि तथा सोका कार्यकारी प्रमुखले यस्तो कारोबार सम्बन्धमा सुरुवाती जानकारी पार्ई उक्त घटना उजागर गरी बजारमा हुन सक्ने थप क्षति न्यूनीकरणमा सहयोग गरेकोले धितोपत्र सम्बन्धी ऐन अनुसार ५० हजार जरिवाना गर्ने निर्णय बोर्डले गरेको अध्यक्ष कार्कीले बताए ।

चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली सेयर खरिद–बिक्री प्रकरणमा बोर्डको तहकिकात अधिकारीको प्रतिवेदन बमोजिम सेयर कारोबारको सिलसिलामा कुनै व्यक्ति वा संस्थासँग व्यावसायिक सम्बन्ध कायम गर्दा त्यस्तो ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख राख्नुपर्नेमा नराखेको, सम्पत्ति शुद्धीकरण निवारण ऐन, सो अन्तर्गत जारी भएका नियम, निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानुन बमोजिम संस्थालाई तोकिएको काम गर्नुपर्ने तथा कानुनी दस्तावेजमा उल्लेख भए बमोजिम ग्राहकको पहिचान यकिन गर्नुपर्नेमा नगरेको तथा ग्राहकको पहिचान अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने व्यवस्था बमोजिम काम नगरेको साथै सरल वा बृहत् ग्राहक पहिचान, प्रविधिको दुरुपयोगमा नियन्त्रण, अनुगमन सम्बन्धको समाप्ति लगायत सम्बन्धित अन्य विषयमा आन्तरिक नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्नेमा नगरेकोले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ को बर्खिलाप कार्य भएको भन्दै बोर्डले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको दफा ७ फ को उपदफा (१) ले खण्ड (ख) को उल्लंघन गरेको ठहर गरेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (दोस्रो संशोधन सहित) को दफा ७ फ को खण्ड (ख) बमोजिम अग्रवाल सेक्युरिटिज प्रालिलाई १० लाख जरिवाना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी, अग्रवालले जस्तै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली सेयर कारोबार प्रकरणमा कानुनी प्रावधानको बेवास्ता गरेकाले श्रीहरिलाई पनि १० लाख रुपैयाँ जरिवाना गरिएको बोर्डको भनाइ छ ।

त्यस्तै, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) मा रहेको धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची–१२ र अनुसूची–१३ बमोजिमको ढाँचामा पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेमा त्यसो नगरेकोले श्रीहरि र अग्रवालका कार्यकारी प्रमुखलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डको विज्ञपितमा उल्लेख छ ।

धितोपत्र सम्बन्धी सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नुपर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नुपर्ने समयमा पेस नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुटा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाई बोर्डले ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

सिप्रवी सेक्युरिटिज प्रालिले यस्तो कारोबार सम्बन्धमा सुरुवाती जानकारी पार्ई यस घटनालाई उजागर गरी बजारमा हुने थप क्षति न्यूनीकरण गर्न सहयोग गरे पनि धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) मा रहेको धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची–१२ र अनुसूची–१३ बमोजिमको ढाँचामा पूर्ण विवरण सहितको अभिलेख राख्न ध्यान नपु¥याएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम ५० हजार जरिवाना गरिएको बोर्डले जनाएको छ ।

सो कम्पनीका कार्यकारी प्रमुखलाई भने धितोपत्रसम्बन्धी ऐनको उपदफा (४) को प्रावधान पालनामा पर्याप्त ध्यान नदिएकोले नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सचेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डले सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत पहिलो कारबाही गरेको हो । साथै धितोपत्र सम्बन्धी ऐन बमोजिमको कारबाहीलाई पनि सशक्त बनाउँदे लगिएको जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता कारबाहीबाट सम्पत्ति शुद्धीकरण तथा धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनीकरण भई दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुमा ऐन, नियमको पालनातर्फ थप सजगता आउने अपेक्षा बोर्डले गरेको छ ।