काठमाडौं-नेकपा एमाले र माओवादी केन्द्र एकता संयोजन समितिको मंगलबारको बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि कार्यदल बनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन भएपछि मात्र संघीय संसद्को निर्वाचनले पूर्णता पाउने छ । संसद्ले पूर्णता पाएपछिमात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ ।


ADVERTISEMENT


एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश सरकार गठन, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनसहितका विषयमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको हो । सरकारले माघ २४ मा राष्ट्रियसभा निर्वाचन मिति तोकेको छ ।


ADVERTISEMENT

# # #


सात प्रदेशमध्ये ६ मा वाम गठबन्धनले सरकार बनाउन बहुमत पाएको छ । तर कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने र सहभागिताबारे निर्णय हुन सकेको छैन । कार्यदलले यस विषयमा पनि अध्ययन गरेर सुझाव दिनेछ ।
कार्यदलमा एमालेबाट सुवासचन्द्र नेम्बाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।

‘प्रदेश सरकार गठन, राष्ट्रियसभा सदस्य निर्वाचका लागि उम्मेदवार चयन गर्न र संघीय संसद्लाई पूर्णता दिन कार्यदल बनाएका छौं’, एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘पार्टी एकता छलफल सकारात्मक दिशामा अघि बढेको छ । अब एकता प्रक्रियालाई तीव्र पाने छौं ।’ नेपालले दुवै दलबीच छलफललाई तीव्र बनाउने सहमति भएको बताए ।
एमाले अध्यक्ष ओली उपचारका लागि बुधबार बैंकक जाँदैछन् । उनी बैंकक गएका बेला पनि दुवै पार्टीका नेताहरूबीच एकता गृहकार्य तीव्र पार्ने निर्णय भएको छ । तर एकता समितिको बैठक भने ओली थाइल्यान्डबाट फर्केपछि मात्रै बस्नेछ । ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा चुनावपछि मंगलबार पहिलो पटक एकता संयोजन समितिको बैठक बसेको हो । बैठकले पार्टी एकतामा कुनै विवाद र विमति नरहेको भन्दै छिट्टै एकता प्रक्रिया टुंग्याउने निष्कर्ष निकालेको छ ।

बैठकले एकीकृत पार्टीको संगठन संरचना निर्माण तथा वैचारिक विषय निर्धारण गर्न दुई छुट्टाछुट्टै कार्यदल बनाउने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘कार्यदलमा को–को रहने भन्ने टुंगो संयोजन समितिको अर्को बैठकले लगाउनेछ,’ खनालले भने, ‘पार्टी एकता हुँदैन कि भन्ने चिन्ता गर्ने अवस्था छैन ।’

आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सानो कार्यदल निर्माण गरेर एकीकृत पार्टीको विचार र संगठनबारे टुंगो लगाउने सहमति भएको थियो । समितिको बैठकमा पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूची रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको छ ।

एकता संयोजन समितिमा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र ईश्वर पोखरेल छन् ।