काठमाडौं-वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन-मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो । गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो ।


ADVERTISEMENT


चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा तीन खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यही समयमा व्यापार घाटा तीन खर्ब ५१ अर्ब ६७ करोड थियो ।


ADVERTISEMENT

# # #


मुलुकको निर्यातभन्दा आयात उच्च वृद्धि भएपछि व्यापारको खाडल बर्सेनि बढ्दै गइरहेको छ । यो वर्षभरि व्यापार घाटा १० खर्ब हाराहारीमा पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको छ ।

पाँच महिनामा विभिन्न मुलुकबाट चार खर्ब ३२ अर्ब ४८ करोडको वस्तु नेपाल भित्रिएको छ । सोही अवधिमा नेपालबाट ३३ अर्ब ७२ करोडको वस्तु निर्यात भएको छ ।

गत वर्षको पाँच महिनामा तीन खर्ब ८२ अर्ब २७ करोडको वस्तु भित्रिएको थियो भने ३० अर्ब ६० करोडको वस्तु निर्यात भएको थियो । यो अवधिमा आयात ५० अर्बले वृद्धि हुँदा निर्यात तीन अर्बले मात्र बढेको विभागको तथ्यांकले देखाउँछ ।