काठमाडौं-रातको समय खुला आकाशमुनि शीतलहरमा काम्दै बसेका घरबारविहीन मानसिक रोगी, अनाथ, अपांग तथा वृद्धवृद्धालाई देख्ने बित्तिकै कम्बलले ढाकिदिन्छन् धुर्मुस ।


ADVERTISEMENT


कठ्यांग्रिदो रातको समय छ । तापक्रम निकै तल झरेको छ । तर पनि चिसो कुनै पर्वाह नगरी कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनकपुरको सडकपेटीमा चिसोले थलिएका असहायलाई कम्बल ओढाउँदै हिँडेका छन्।


ADVERTISEMENT

# # #


मंगलबार राति करिब १० बजे उनी जनकपुरका दुई सञ्चारकर्मीहरू शैलेन्द्र महतो र सन्तोष सिंहसँगै कम्बल बोकेर फुटपाथमा असहायलाई खोज्दै गरेका भेटिए । जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर, जनकचोक, जानकीचोक, रामचोक, मुरलीचोक, विश्वकर्मा चोकलगायत स्थानका फुटपाथमा भेटिएका जोकोही असहायलाई न्यानो लुगाफाटो ओढाएर उनले चिसोमा राहत बाड्ने काम गरेका छन् ।

चिसो रातमा यसरी कम्बल बाँड्दै हिँड्दा असहज हुँदैन भन्ने प्रश्नमा धुर्मुस भन्छन् ‘मरी लानु के छ र ? सडकपेटीमा वर्षौंदेखि रात गुजार्ने, वृद्धवृद्धा, अपांग, मानसिक रोगी, अनाथलगायत असहायको पीडाको अगाडि मेरो दुःख त केही होइन । मानव भएपछि यसरी कष्टपूर्ण जीवन बिताउनेहरूलाई सबैले सहयोग गरेर मानवीय धर्म निर्वाह गर्नुपर्छ ।’

धुर्मुससुन्तली फाउन्डेसनले चिसोसँगै चलेको शीतलहरको सुरुदेखि नै जाडो प्रभावित तराई–मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहालगायत जिल्लाका विभिन्न दलित एवं विपन्न बस्तीमा गएर न्यानो कपडा वितरण गर्दै आएको छ।

मंगलबार महोत्तरीको बथनाहामा जाडो प्रभावित दुई सय दलित एवं विपन्न घरपरिवारलाई धुर्मुस आफैं पुगेर कम्बल वितरण गरेका हुन्। नेपाल इन्जिनियरिङ एसोसिएसनका उपमहासचिव रवीभूषण झाको समन्वयमा त्यहाँ कम्बल वितरण गरिएको हो।

हालसम्म जाडोपीडित २५ सय परिवारलाई न्यानो कपडा वितरण गरिसकिएको फाउन्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले बताए ।