काठमाडौं-मेलम्ची खानेपानी आयोजनाले बाटो खनेकै कारण राजधानीमा प्रदूषण बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको आयोजनाले त्यसको बचाउ गर्दै चालू आर्थिक वर्षभित्रै कालोपत्रे र सँगसँगै पानी वितरण गर्ने वचनबद्धता प्रकट गरेको छ ।


ADVERTISEMENT


मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले यस आयोजनाअन्तर्गत उपत्यकामा सात सय किलोमिटर पाइपलाइन खनिएको र त्यसमध्ये २२० किलोमिटर कालोपत्रे सडक रहेको जानकारी दिँदै यस आयोजनाअन्तर्गत खनिएका सडक चालू आर्थिक वर्षभित्र नै कालोपत्रे गरिसक्ने जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


खनिएका सडकहरूको कालोपत्रे नभएका कारण नै अहिले उपत्यकामा धुलोको मात्रा बढ्दै गएको छ । उनले आगामी जेठदेखि पानी वितरण गर्ने पनि स्पष्ट पारेका छन् । राजधानी काठमाडौँले झन्डै दुई दशकदेखि खानेपानीको अभाव भोगिरहेको छ भने मेलम्चीको पर्खाइ पनि पट्यारलाग्दो हुँदैछ ।

खत्रीका अनुसार २२० किलोमिटर सडकमध्ये ५० किलोमिटर कालोपत्रे भइसकेको छ तथा ५० किलोमिटर पाइपलाइन अझै खन्न बाँकी रहेको छ । खन्न बाँकीमध्ये १० किलोमिटर सडक मात्र बाँकी रहेको छ । आयोजना निर्देशक खत्रीले मेलम्ची आउनुअघि नै पाइप र कालोपत्रेको काम सक्ने दाबीसमेत गरेका छन् ।

निर्देशक खत्रीले २०७५ जेठसम्म मेलम्चीको पानी राजधानी आइपुग्ने र माघको अन्तिमसम्म सम्पूर्ण नागरिकको घरघरमा पु¥याउने लक्ष्य लिइएको जानकारी गराएका छन् । राजधानीमा पानी आइपुगे पनि पाइपहरूको सफाइ, जाँचलगायतका काम पूरा गर्न छ महिना लाग्ने उनले बताए । बिछ्याइएको ४० प्रतिशत पाइपको जाँच्ने काम भइसकेको छ ।

“पानी राजधानीसम्म पु¥याउने जिम्मेवारी मेलम्ची खानेपानी आयोजना नं. १ को हो, राजधानीमा पानी आइपुगेपछि त्यसको वितरणको जिम्मेवारी हाम्रो हो”, उनले भने ।

पानी आएपछि ‘प्रारम्भिक बिन्दु’मा जेठ महिनामा नै वितरण गरिनेछ भने ‘अन्तिम बिन्दु’सम्म पु¥याउन छ महिना लाग्ने बताउँदै उहाँले चक्रपथ विस्तार तथा कलङ्कीमा निर्माणाधीन ‘सब–वे’का कारण पाँच किलोमिटर पाइप बिछ्याउने काम बाँकी रहेको जानकारी दिए ।

उक्त आयोजनाद्वारा सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा बुधबार आयोजित सरोकारवालाहरूसँगको छलफलमा मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्ची आयोजनाका कारण प्रदूषणको सम्पूर्ण जिम्मेवारी मन्त्रालयको भएको बताएका छन् ।

प्रदूषण न्यूनीकरणका लागि मन्त्रालय तदारुकताका साथ लागिपरेको बताउँदै उनले खनिएका सडकको कालोपत्रे कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीहरूलाई निर्देशन दिए । उनले हरेक हप्ता पत्रकार सम्मेलन गरेर आयोजनाबारे आमनागरिकलाई सुसूचित गर्न सम्बन्धित निकायहरूलाई समेत निर्देशन गरेका छन् ।

खनिएका सडकहरू कालोपत्रे गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायी कम्पनीहरूले केही समययता रातको समयमा बढ्दै गएको जाडोका कारण कालोपत्रे गर्ने काम अवरोध भएको बताउँदै आएका छन् । उक्त अवसरमा शर्मा एन्ड कम्पनीका प्रमुख रमेश शर्माले दिउँसो यातायातको चाप र राति चिसोका कारण कालोपत्रे गर्ने काम केही अवरुद्ध भएको बताए । मेलम्ची आयोजना नं. २ अन्तर्गत अहिले नौवटा निर्माण कम्पनी काम गरिरहेका छन् ।

मेलम्ची आयोजनाले पाइप बिछ्याउनका लागि २०७३ मङ्सिरदेखि राजधानीमा सडक खन्न सुरु गरेको हो । २०७३ असार ६ गते मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच सडक खन्नेबारे सम्झौता भएपछि आयोजनाले सडक खन्न सुरु गरेको थियो । यसअघि सडक विभागले सडक खन्न दिएको थिएन ।

सडक खन्ने सम्झौतापछि उक्त आर्थिक वर्षमा सरकारले सडक विभागलाई अतिरिक्त ८५ करोड रुपियाँ उपलब्ध गराएको थियो । २०२९ सालमा मेलम्चीको प्रारम्भिक सोच आएको थियो भने २०४८ सालमा अवधारणा बनेको थियो । कार्यालय स्थापना गरेर २०५२ सालदेखि औपचारिक रूपमा काम सुरु गरिएको हो ।