यस्तो छ प्रदेशगत रूपमा दलहरूको अवस्था
काठमाडौं-प्रदेश १ः प्रदेश १ को जम्मा मतभार ९ हजार ३ सय ९६ छ । निर्वाचित हुन आवश्यक मत २ हजार ३ सय ५० हो। यो प्रदेशमा कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २ हजार ७ सय ३६ हुन्छ । वाम गठबन्धनको ६ हजार २ सय २८ मतभार हुन्छ । त्यसैले १ नम्बर प्रदेशमा १ महिला र १ अन्य कांग्रेसले जित्ने अवस्था छ भने दुई महिला र दुई अन्य वाम गठबन्धनको हात पर्ने देखिन्छ । यो प्रदेशमा वाम गठबन्धनको बहुमत छ ।


ADVERTISEMENT


प्रदेश २ः प्रदेश २ मा कुनै पनि दलको बहुमत छैन । यो प्रदेशको मतभार १० हजार ३२ छ । निर्वाचित हुन आवश्यक मत दुई हजार पाँच सय नौ हो । कांग्रेस र फोरम लोकतान्त्रिकको मतसंख्या दुई हजार तीन सय ७० छ । वाम गठबन्धनको तीन हजार १२ मतभार छ । राजपा र संघीय समाजवादी फोरमको चार हजार पाँच सय मत छ। यो प्रदेशमा वाम गठबन्धनले एक महिला र एक अन्य जित्ने देखिन्छ । राजपा र संघीय समाजवादी मिलेमा एक महिला र एक अन्य जित्ने अवस्था छ भने कांग्रेस एक्लैले कुनै पनि पद जित्ने अवस्था छैन । कांग्रेस, राजपा वा संघीय समाजवादी मिलेमा एक महिला र एक अन्य जित्ने अवस्था छ ।


ADVERTISEMENT

# # #


प्रदेश ३ः प्रदेश ३ मा वाम गठबन्धनको बहुमत छ । जम्मा मतभार नौ हजार पाँच सय ६४ रहेकोमा जित्न आवश्यक मत दुई हजार तीन सय ९२ चाहिन्छ । कांग्रेसको दुई हजार दुई सय १४ मत छ । वाम गठबन्धनको ६ हजार आठ सय ७६ मत छ । यो प्रदेशमा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ । बाँकी एक महिला र एक अन्य सिट जित्न भने साना दलको भर पर्नुपर्ने अवस्था छ । नेमकिपा, नयाँ शक्ति, विवेकशील साझा, राप्रपा र राप्रपा प्रजातान्त्रिकको सहयोग कांग्रेसलाई भए कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनलाई भए वाम गठबन्धनले ती दुई पद जित्ने अवस्था छ ।

प्रदेश ४ः प्रदेश ४ को मत संख्या ५ हजार ९ सय ४० छ । यो प्रदेशमा जित्नका लागि १ हजार ४ सय ८६ मत चाहिन्छ । कांग्रेसको २ हजार १ सय ७८ मत छ । वाम गठबन्धनको ३ हजार ३सय ४८ मत छ । कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ ।

प्रदेश ५ः ८ हजार १ सय मत रहेको ५ नम्बर प्रदेशमा जित्नका लागि दुई हजार २६ मत चाहिन्छ । कांग्रेसको दुई हजार ६४ मत छ । वाम गठबन्धनको पाँच हजार दुई सय ८६ मत छ । प्रदेश ५ मा एक महिला र एक अन्य कांग्रेसले तथा दुई महिला र दुई अन्य वाम गठबन्धनले जित्ने देखिन्छ ।

प्रदेश ६ः प्रदेश ६ का सबै सिट वाम गठबन्धनले जित्ने देखिन्छ । चार हजार सात सय ६४ मत संख्या रहेको यो प्रदेशमा जित्नका लागि एक हजार एक सय ९२ मत चाहिन्छ । तर, कांग्रेसको एक हजार २६ मात्र मतसंख्या छ । वाम गठबन्धन र केही स्वतन्त्र (वाम गठबन्धननजिक) को ७२ मतसमेत जोड्दा वाम गठबन्धनको तीन हजार ६ सय १८ मत हुन्छ । यो संख्याले तीन महिला र तीन अन्य जित्ने देखिन्छ ।

 प्रदेश ७: प्रदेश ७ को जम्मा मतभार पाँच हजार सात सय १२ छ । निर्वाचित हुन आवश्यक मत संख्या एक हजार चार सय २९ हो । कांग्रेसको एक हजार ८ सय ७२ मत संख्या छ भने फोरम लोकतान्त्रिकको ३६ समेत कांग्रेसको भागमा जोड्दा एक हजार नौ सय आठ हुन्छ । वाम गठबन्धनको तीन हजार सात सय आठ मत छ । यो प्रदेशमा कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ ।-आजको अन्नपूर्णबाट