काठमाडौं-पूर्वमा सुन्तला उत्पादन कम भएपछि बजारमा सुन्तलाको मून्य बढेको छ । अन्य वर्षको तुलनामा यस वर्ष बजारमा कमै मात्रमा सुन्तला आएकाले साविकको भन्दा सुन्तलाको भाउ बढेको छ ।


ADVERTISEMENT


पूर्वी पहाडी जिल्लाहरूमा सुन्तला कम उत्पादन भएको कारण बजारमा सुन्तलाले माग धान्न नसकेको हो । गत आर्थिक वर्ष २०७२/७३ मा छ हजार ४९३ मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला थोक मूल्यमा मात्र ५२ करोड रुपियाँको कारोबार भएको थियो तर यो वर्ष भने सुन्तलाको व्यापार घटेको छ । सुन्तला उत्पादनमा कमी आउनुको मुख्य कारण सुन्तलाको बोट मर्नु र फूल लागेको बेलामा झर्नु हो ।


ADVERTISEMENT

# # #


अहिलेको यो सिजनमा बजारहरू सुन्तलामय हुनुपर्नेमा बजारमा सुन्तला कमै मात्रमा पाइन्छ । गत वर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लामा सुन्तला कम फलेकोले माग अनुसारको बजार धान्न नसकेको व्यापारीहरूले बताएका छन् ।

यसपटक गत वर्षको तुलनामा धनकुटा र भोजपुरसहितका जिल्लामा ४५ प्रतिशत मात्र सुन्तला फलेकाले मूल्य भने सुरुमै तेब्बर बढेको छ । सुनसरीको धरानको कृषि उपज बजारबाट सदरमुकाम इनरुवा, इटहरी, रामधुनी, विराटनगर, दमक, पथरी, विर्तामोड, राजविराज, लाहान, जनकपुरलगायतका सहरहरूमा जाने गरेकोमा यसपटक भने धरानमा मात्र खपत हुने देखिएको व्यपारीहरूले बताएका छन् ।

गत वर्ष यसै सिजनमा कृषिउपज बजारस्थल धरानमा एक हजार पाँच सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । अर्थात् थोक मूल्यमा ८५ रुपियाँ प्रतिकिलोले १२ करोड रुपियाँ बराबरको बिक्री भएको थियो तर यो वर्ष सिजनमा पनि चार सय मेट्रिक टन (करिब पाँच करोड रुपियाँ) बराबरको सुन्तला मात्र बिक्री भएको छ ।

धरानस्थित कृषि उपज बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, सङ्खुवासभामा उत्पादित सुन्तला आउने गर्दछ  तर यो वर्ष भने सुन्तला कृषक र व्यापारी निराश भएका छन् । कम उत्पादन हुनुको मुख्य कारणहरूमा फूल लागेको बेला असिना पर्नु हो । गत वर्षको तुलनामा यो वर्ष पूर्वी पहाडी जिल्लामा ४० प्रतिशत मात्र सुन्तला उत्पादन भएको छ  ।

भोजपुर षडान्द नगरपालिका वडा नंं. १० मा लामो समयदेखि सुन्तला खेती गर्दै आएका जितेन्द्र राई सुन्तलामा लाग्ने रोगको बारेमा ज्ञान नहुनु र यसबारेका सरकारले कृषकलाई नसिकाउँदा पनि सुन्तला उत्पादनमा कमी आएको बताएका छन् ।

यसपटक पूर्वी पहाडी जिल्लाहरूमा गत वर्षको तुलनामा ६० प्रतिशतले कम सुन्तला उत्पादन हुनुका साथै बजारमा पनि ४० प्रतिशत मात्रै सुन्तला आएको छ । यसले गर्दा यसपटक सुन्तला व्यापारीहरूलाई सुन्तला नफल्नुले निकै ठूलो मर्का परेको सुन्तला व्यापारी टीकाराम श्रेष्ठले बताएका छन् ।

धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यो वर्ष सिजनमा पनि उपभोक्ताको माग अनुसार सुन्तलाको आपूर्ति गर्न नसकिने देखिएको छ ।