काठमाडौं-निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । आइतबार बसेको आयोग बैठकले खर्चको सीमा तोकेको हो ।


ADVERTISEMENT


प्रत्येक प्रदेशबाट आठजनाका दरले निर्वाचित हुने राष्ट्रिय सभा सदस्यमध्ये हरेक प्रदेशमा एकजना सदस्य अपांगता वा अल्पसंख्यक कोटाबाट निर्वाचित हुनेछन् । तर, अहिलेसम्म सरकारले अल्पसंख्यक समुदाय परिभाषित गरेको छैन ।


ADVERTISEMENT

# # #


आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने राजनीतिक दलका पदाधिकारीको आधिकारिक दस्तखतको नमुना ३ माघभित्र आयोगमा पठाउन आग्रह गरेको छ ।

कति प्रकारका मतपत्र ?
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कम्तीमा तीन र बढीमा चार प्रकारका मतपत्र प्रयोग गर्न लागिएको छ । निर्वाचन आयोगको तयारीअनुसार खुला तीन सदस्य, तीन महिला सदस्य, दलित सदस्य र अपांगता वा अल्पसंख्यक कोटाबाट निर्वाचित सदस्यलाई छुट्टाछुट्टै मतपत्र प्रयोग गर्न लागिएको हो । -आजको नयाँ पत्रिकाबाट