चितवन– नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा भक्तजनको रातिदेखि नै घुइँचो लागेको छ ।


ADVERTISEMENT


मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम आज बिहान ४ बजेदेखि नै शुरु भएको हो । देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।


ADVERTISEMENT

# # #


हिजो आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर आज बिहान ४ बजेदेखि नै गंगामा नुहाइ पूजाआजामा सक्रिय छन् ।  परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ । आज दिनभर नै यहाँ मेला लाग्छ । नेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलको गन्तव्य मानिने देवघाट भारतका हिन्दूको समेत मुख्य तीर्थस्थल बन्ने गरेको छ ।

देवघाट क्षेत्र विकास समितिले १५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेर तयारी गरेको थियो ।

मेलामा आउने झक्तजनलाई सहजताका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । चिसो मौसम भएकाले भक्तजनलाई धुनीको व्यवस्थासमेत मिलाइएको छ । यस्तै स्वास्थ्य उपचार, शौचालय, स्नान स्थल व्यवस्थापन, विद्युत्, आकस्किम उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ ।

त्रिशूली र कालीगण्डकी नदीको संगम बेणीमा माघेसङ्क्रान्ति मेला लाग्छ ।

देवघाटमा देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आउने भएकाले सवारीको ठूलो चाप हुने हुँदा सवारी आवागमन र पार्किङका लागि विभिन्न स्थान तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए ।