काठमाडौँ– जिल्ला वन कार्यालय काठमाडौँमा यस वर्ष वन्यजन्तु तथा जडीबुटी ओसारपसारसम्बन्धी १४ मुद्दा दर्ता भएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न भागबाट चोरी गरी बिक्री वितरणका लागि काठमाडौँमा ल्याउँदा पक्राउ परेका आखेटोपहार र जडीबुटीका १४ मुद्दा दायर भएका हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला वन कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँ आखेटोपहारको हव भएकाले यस क्षेत्रमा धेरै वन्यजन्तुका अवशेष र जडीबुटी पक्राउ पर्ने गरेको बताए । “मूल्य नै थाहा नपाइकन धेरै मूल्य पाउने आशमा मानिसले अवैधरुपमा ओसारपसार गरिरहेका छन्”, उनले भने ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र उपत्यकाका विभिन्न प्रहरी वृत्तबाट पक्राउ धेरै हुने गरेको छ । जिल्ला वन कार्यालय काठमाडौँमा गत वर्षमा ६७ मुद्दा दर्ता भएकामा २३ मुद्दा जिल्ला अदालत काठमाडौँमा पठाइएको र बाँकी ४४ मध्ये २७ वटा फैसला भएका तथा १७ वटा फैसला हुने क्रममा रहेको दाहालले जानकारी दिए ।

कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार एक वर्षभन्दा बढी कैद सजाय हुने मुद्दालाई जिल्ला अदालत पठाउने गरिएको छ ।