काठमाडौं-भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT


दूतावासले एक महिनाअघि भारतका केही संस्थासँग मिलेर तथ्यांक संकलन थालेको थियो । ‘भारतमा विभिन्न आरोपमा जेलजीवन बिताउन बाध्य नेपालीको उद्धारका लागि पहिलो चरणमा तथ्यांक संकलन गर्ने कार्य सुरु गरेका छौं। तीन/चार महिनाभित्र यो कार्य सकिने अनुमान छ’, रेग्मीले भने ।


ADVERTISEMENT

# # #


‘तथ्यांक संकलनपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र सरकार तथा राज्य सरकारहरूसँग पहल गर्ने प्रक्रिया सुरु गर्न सक्छौं’, उनले थपे । हिमाञ्चल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा जाँदा त्यहाँ ३४ जना नेपाली रहेको जानकारी पाइयो ।

त्यसलाई ध्यानमा राख्दै जेलमा रहेका नेपालीको उद्धारको पहल गर्ने क्रममा अध्ययन थालेको रेग्मीले जानकारी दिए । दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ । तीमध्ये ४८ जनाको हिमाञ्चल प्रदेशको जेलबाट उद्धार गरिएको छ । -आजको अन्नपूर्ण पोस्टबाट