डडेल्धुरा– डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ ।


ADVERTISEMENT


डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै बाटो पनि बनेपछि पूरा भएको हो ।


ADVERTISEMENT

# # #


विसं २०५४ मा उद्घाटन गरी सडक खन्ने कार्य गरिए पनि २० वर्षपछि जनप्रतिनिधि आएको छ महिनामा नै पूरा भएको उक्त गाउँपालिकाले जनाएको छ ।

विसं २०५४ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत आनारखोली, बजकोट खतेडागाउँका साथै डडेल्धुरा र बैतडीका अन्य गाउँमा सडक पु¥याउनका लागि उद्घाटन गरिए पनि प्रयास विफल भएको थियो । करिब नौ किमी सडक खन्न २० वर्ष लागेको र करोडौँ पैसासमेत खर्च भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

साविकको जिविसको बजेट, साविककै समैजी गाविसको बजेट, सडक डिभिजन कार्यालय कुलपाते र पाटनको बजेट र सांसद विकास कोषको रकम गरी करोडौँ रुपैयाँ खर्च गरिसक्दा पनि निर्माण हुन नसकेको नौ किमी ग्रामीण सडक स्थानीय जननिर्वाचित प्रतिनिधि आएको केही समयमा नै पुगेको स्थानीय उपभोक्ताको भनाइ छ ।

उक्तसडकलाई गाउँसम्म पुर्याउनका लागि स्थानीयबाट रु दुई लाख चन्दा संकलन गरी खर्च गर्दा सडक दुई किमी मात्रै काटिएको स्थानीय धर्मानन्द भट्टले बताए । बिरामी वृद्धवृद्धा र सुत्केरी महिलालाई अस्पतालसम्म लैजान समस्या झेल्दै आएको उक्त गाउँका बासिन्दा सडक गाउँमा पुगेसँगै हर्षित पनि भएका छन् । रोगी र सुत्केरी अवस्थाका महिलाले तत्काल ज्यान गुमाउनुपर्ने अवस्था अब नभएको चर्चा गर्दै अर्का स्थानीय वीरेन्द्र भण्डारीले भने, “आफू जन्मदा सुरुआत गरिएको सडक आफूले छोराछोरी हुर्काइ सकेका बेलामा गाउँमा बाटो पुग्दा पनि खुशी लागेको छ ।”

गाउँपालिका र वडाको बजेटले यो आर्थिक वर्षको पहिलो चौमासिकमै गाउँमा सडक पुर्याइएको सडक निर्माण समितिका अध्यक्ष हरिदत्त भट्टले बताए ।

स्थानीय सरकार गठन भएसँगै आवका लागि बजेट विनियोजित गर्दा वडा कार्यालय समैजी र गाउँपालिका अजयमेरुले अनारखोली बजकोट खतेडा सडकलाई प्राथमिकतामा राखेको वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए ।

वडा कार्यालयको रु सात लाख र गाउँपालिकाको रु २० लाख गरी रु २७ लाखमा अनारखोली, बजकोट र खतेडा सडक गाउँमा पुर्याइएको वडा कार्यालयले जनाएको छ । वडा नं १ को खतेडा, बजकोट, मुद्राड, सिलगीमा पनि सडक पुगेको वडा कार्यालयका सचिव पुष्पराज जोशीले जानकारी गराए । अजमैरु गाउँपालिकाका छवटै वडाका गाउँमा समेत सडक सञ्जालसँग जोड्ने कार्य भइरहेको छ ।

अजयमेरु गाउँपालिको बजेट र वडाको बजेटले दुर्गम बस्तीमा रहेका गाउँमा सडक पुग्दा जनतालाई राहत हुनुका साथै सडक खन्ने कार्यले तिब्र गति लिएको गाउँपालिका प्रमुख उमेश भट्टले बताए । वर्षौँ पहिलेदेखिको गाडी चढ्ने धोको निर्माण कार्य शुरु गरिएको २० वर्षमा पूरा हुँदा खतेडाका महिला बालबालिका वृद्ध तथा सर्वसाधारण हर्षित भएका स्थानीय किशोर सिंह भण्डारीको भनाइ छ ।

गाउँपालिकाको टोलीसहित सडक अनुगमनमा वडा नं १ म पुगेका प्रमुख भट्टले गाउँमा सडक पुग्यो अब व्यावसायिकरुपमा उत्पादनमूलक कृषि कार्यका लागि आम्दानीका स्रोत बढाउन विकास निर्माणसँगै बेरोजगारी समस्यासमेत समाधान गर्नेतर्फ योजना अगाडि सार्ने बताए। गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ ।