काठमाडौं – नर्समाथि भइरहेको श्रम शोषण बन्द गर्नुपर्ने माग राखेर देशभरका नर्स आन्दोलनमा उत्रिएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले निष्कासन गरिएका नर्सलाई बिनास्वार्थ पुनर्वहालीको माग गर्दै नर्स आन्दोलनमा उत्रिएका हुन् ।


ADVERTISEMENT


यसबाहेक नर्सहरुका अन्य ११ वटा माग छन् । भोलि बुधबारसम्म पनि माग पूरा नगरे देशैभरको स्वास्थ्य सेवा ठप्प पार्ने नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् । उनले भनिन्, “स्वास्थ्य मन्त्रालयमा पटक पटक पत्र पठाउँदा पनि हाम्रो मागको कुनै सुनुवाइ नभएपछि हामी आन्दोलनमा आएका हौं,” उनले भनिन्, “पूर्व कार्यतालिका अनुसार सोमबारदेखि देशैभरका नर्सहरु तीन दिनसम्म १० देखि १ बजेसम्म ३ घन्टाका लागि ड्युटी छाडेर आन्दोलन गरिहेका छौं ।”


ADVERTISEMENT

# # #


माग पूरा नभए माघ ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमा देशैभरका नर्स ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने थापाले बताइन् ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा। पुष्पा चौधरीले नर्सका जायज मागहरु पूरा गर्न छलफल भइरहेको र चाँडै मन्त्रालयले समस्या समाधान गर्ने बताइन् । सचिव चौधरीले भनिन्, “आन्दोलन चर्काएर अस्पतालको सेवा ठप्प नपार्न भनेका छौं ।” गत बुधबारदेखि नै नर्सहरुले विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गर्ने र धर्ना बस्ने गरेका थिए ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात सबै अस्पतालमा यथाशीघ्र लागू, नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध हुनुपर्नेलगायत ११ वटा माग नर्सहरुले राखेका छन् ।