काठमाडौं – काठमाडौं उपत्यकामा प्रहरीले पछिल्लो तीन महिनामा अदालतबाट फैसला भई फरार रहेका १ हजार १६२ जना कसुरदारलाई पक्राउ गरेको छ । उनीहरूबाट ३०२ वर्ष ४ महिना १८ दिन कैद सजाय कार्यान्वयन गराउनुका साथै १५ करोड ७८ लाख ९८ हजार ७०७ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् साउन, भदौ र असोज महिनाको सुरक्षा विश्लेषण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।


ADVERTISEMENT

#


प्रहरीका अनुसार यस अवधिमा उपत्यकाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि २३ हजार २४३ पटक मोबाइल गस्ती, २० हजार ८८७ पटक पैदल गस्ती र ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती गरिएको थियो । साथै, विभिन्न कारागार तथा थुनाबाट फरार भएका थप ६७ जना कैदीलाई समेत पक्राउ गरिएको छ ।

लागुऔषध कारोबार नियन्त्रणतर्फ प्रहरीले तीन महिनामा ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७२ किलोभन्दा बढी गाँजा, १३ किलोभन्दा बढी पोल्याण्ड, ७६७ ग्रामभन्दा बढी खैरो हेरोइन तथा ट्रमाडोलसहित २ लाख ९५ हजार ६७६ एम्पुल तथा चक्की बरामद गरिएको छ ।


ADVERTISEMENT

#
#


त्यस्तै, हुण्डी कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको छ । उक्त कारोबारमा १ करोड ६० लाख ८४ हजार १८० रुपैयाँ बिगो मागदाबी गरिएको छ । भन्सार छली तथा अवैध सुनचाँदी ओसारपसारमा संलग्न २७ जनालाई पक्राउ गरी २३ किलो ८८८ ग्रामभन्दा बढी सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

जुवातास नियन्त्रण अभियानअन्तर्गत १४ वटा मुद्दा दर्ता गरी ११९ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट ४१ लाख ४३ हजार ५७५ रुपैयाँ बरामद भएको छ ।

सार्वजनिक स्थलमा हुने दुर्व्यवहार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सञ्चालित ‘स्विप अपरेसन’ अन्तर्गत २ हजार ७३४ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिएको थियो । त्यस्तै, सार्वजनिक सवारी तथा भीडभाड हुने क्षेत्रमा हुने दुर्व्यवहार नियन्त्रणका लागि सञ्चालित ‘सेफ्टी पिन अपरेसन’ मा ६३७ जना पक्राउ परेका छन् । तीमध्ये गम्भीर प्रकृतिका कसुरमा संलग्न ६३ जनाविरुद्ध ४३ वटा मुद्दा दर्ता गरिएको छ ।

सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ हजार ९३८ जना र लागुऔषध सेवन गरी सवारी चलाउने ७८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, सवारीसाधन चोरी तथा हराएको भन्दै परेका ५२१ उजुरीमध्ये २५७ वटा सवारीसाधन फेला पारिएको छ ।

चाडपर्व सुरक्षामा ८ हजार ६६८ प्रहरी परिचालन

चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले असोज १८ देखि कात्तिक १८ गतेसम्म एकमहिने विशेष सुरक्षा योजना सञ्चालन गरेको थियो । उक्त योजनाअन्तर्गत काठमाडौं उपत्यकामा ८ हजार ६६८ जना प्रहरी परिचालन गरिएको थियो ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ३७ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गर्नुका साथै उपत्यकाका २२ वटा नाकामा चौबीसै घण्टा चेकजाँचको व्यवस्था गरिएको थियो । पैदल तथा सवारी गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरमार्फत निगरानीसमेत गरिएको थियो ।

विशेष सुरक्षा योजनाका क्रममा जुवातास खेल्ने तथा खेलाउनेविरुद्ध १२ वटा मुद्दा दर्ता गरी ९१ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट २८ लाख ७९ हजार ७७५ रुपैयाँ नगद र ४९ बुक तास बरामद गरिएको छ ।

त्यस्तै, अवैध पटाका आयात तथा बिक्री वितरणमा संलग्न १२ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट ३४ हजार ३५७ थान विभिन्न प्रकारका पटाका, १३ हजार ८४९ प्याकेट पटाका तथा बेवारिसे अवस्थामा रहेका तीन बोरा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवातास खेल्ने तथा खेलाउने र पटाका एवं विस्फोटक पदार्थ पड्काउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले प्रविधि र जनशक्ति परिचालनमार्फत उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाइएको जनाएको छ ।