काठमाडौं-नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ ।


ADVERTISEMENT


नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ । सेनाको मुख्यालयभित्र ठूला–ठूला भवन, स्टेडियम र पुस्तकालय बनाइएको छ । त्यस्तै ट्रमा सेन्टरसँगैको त्रिचन्द्र मिलिटरी हस्पिटल भत्काएर सेनाले नौ तले बिजनेस कम्प्लेक्स बनाएको छ । यसको पनि नक्सापास नभएको महानगरले जनाएको छ ।


ADVERTISEMENT

# # #


घर निर्माणअघि नै कस्तो र कुन प्रयोजनका लागि बनाउने भन्ने ‘डीपीसी’ सम्मको स्वीकृत लिनुपर्ने हुन्छ । डीपीसीसम्म काम पूरा भएपछि कति तला, ‘स्ट्रक्चर’ कस्तो हुने भन्ने यकिन गर्नुपर्ने हुन्छ । तर जंगीअड्डाले नक्सापाससमेत नगरी धमाधम ठूला महल बनाइरहेको छ ।

‘नक्सापास गर्नुको त टाढाको कुरा, सम्पर्कमा आउनुस् भन्दासमेत अटेर भइरहेको छ,’ काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भनिन् । नक्सापास नगरेपछि रक्षामन्त्रीलाई समेत गुहारेको उल्लेख गर्दै उनले भनिन्, ‘जनता र सरकार सबैलाई समान नियम लाग्छ । म आर्मी हुँ, नियम लाग्दैन भन्ने हुँदैन । सेनाले बनाएको कुनै पनि संरचनाको नक्सापास भएको छैन ।’

सेनाले महानगर भवन अगाडि पुस्तकालयका लागि सेतो घर बनाएको छ । त्यो घरको पनि नक्सापास नभएको खड्गीले बताइन् । ‘त्यत्रो खुला ठाउँको छेउमा नसुहाउने गरी टङरंग घर बनाइएको छ,’ उनले भनिन् ।

सर्वसाधारणले महानगरको नियम माने पनि सेनाले अटेर गरेको उनले बताइन् । उच्च पदमा बसेका व्यक्तिले कानुन माने मात्रै सर्वसाधारणलाई पनि कार्यान्वयन गराउन सहज हुने उनको भनाइ छ ।

सेनाले नक्सापास नगरी संरचना बनाउँदा पनि कारबाही नगरेको भन्दै सर्वसाधारणले समेत मापदण्ड मिच्ने, नक्सापास नगरी घर बनाउन थालेको महानगरका कर्मचारीको गुनासो छ ।-आजको कान्तिपुरबाट