काठमाडौं-नौ खेलाडीमा सिमित भएको प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत तेस्रो चरणको रिप्ले खेलमा नर्विच सिटीलाई टाइब्रेकरमा ५ – ३ ले हराउँदै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा ९ खेलाडीमा सिमित चेल्सीले चौथो चरणमा स्थान बनाउन निकै संघर्ष गर्नु परेको थियो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १ – १ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।


ADVERTISEMENT

# # #


पेनाल्टी सुटआउटमा चेल्सीका विलियन, डेभिड लुइज, सिजर अज्पिलीकुएटा, कान्टे र इडेन हाजार्डले गोल गरे । नर्विचका नेल्सन ओलिभेरा पेनाल्टीमा चुक्दा जेम्स माडीसन, मारियो र जोश मुर्फेले गोल गरेका थिए । अब चौथो चरणमा चेल्सीले न्युकासल युनाइटेडसँग जनवरी २८ मा खेल्ने छ ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा मिसी बात्सुयीले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका । तर, इन्जुरी समयमा नर्विचका जमाल लुइसले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

अतिरिक्त समयमा चेल्सीका दुई खेलाडी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । एक सय १७ औँ मिनेटमा पेड्रो तथा थप गरिएको समयको इन्जुरी समयमा अल्भारो मोराटा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ खेलाडीमा सीमित भयो । तर, त्यसको फाइदा नर्विचलेलि सकेन । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेन र खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रकेरमा चेल्सीले नर्विचलाई ५–३ ले हरायो ।

राति नै भएका अरु खेलमा तेस्रो डिभिजन लिग वान लिडर विगानले प्रिमियर लिग क्लब बोर्नमाउथलाई ३–० ले हराउँदै चौथो चरणमा स्थान पक्का गरेको छ । यस्तै स्वान्सी सिटीले वुल्वसलाई २–१ ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको छ ।