डोटी- प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् ।


ADVERTISEMENT


कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय कब्जाको घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


सरकारले अस्थायी मुकाम धनगढी तोकेको बिरोधमा बुधवार राति नेपाली कांग्रेसका ३५ जना कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टी जिल्ला उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ जनाले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले डोटेली जनताको भावना विपरीत अस्थायी मुकाम तोकेर दुर्गमका जनतामाथि अन्याय गरेकोले आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘राजधानी धनगढी सारिनुले डोटी र डोटीबासीको परिचयसंग सामिप्यता गाँसेका सम्पूर्णजनहरुको आज घोर अपमान भएको महसुस भएको छ । सरकारको निर्णयले प्रदेश नं. ७ का पहाडीवासी सबैैलाई अन्याय भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसको साधारण सदस्य समेत त्याग्नु बाध्यात्मक कदम भएकाले हामी डोटीमा क्रियाशील अन्य राजनीतिक सहयात्रीहरुलाई डोटेली जनताको आन्दोलनमा सहयोग गर्न आग्रह गर्दै जनताको साथमा सडकमा रहने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’

यस विषयमा पार्टी जिल्ला सभापति प्रदीप देउवासँग जानकारी लिने प्रयास गर्दा उनको फोन उठेन ।

 

 

-अनलाइनखबर