कमल खत्री, म्याग्दी– पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटेको छैन । यद्यपि यस लोकमार्गको बागलुङ खण्डको विकल्पका रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई लिइएको छ । मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भए पनि जिल्लाको केन्द्रीय तहमा पहुँच पुग्न नसक्दा यसअघि उक्त सडकको म्याग्दी हुँदै विस्तार हुनुपर्ने सडक अन्यत्रै सारिएको थियो ।


ADVERTISEMENT


विसं २०६२ मा बेनीदेखि दरबाङसम्म पुगेको मोटरबाटोको ट्र्याक धारापानी, ताकम हुँदै अहिले मुनासम्म पुगिसकेको छ । पश्चिम म्याग्दी क्षेत्रमा विस्तार गर्ने गरी तोराखेतसम्म पुगेको सडकलाई तत्कालीन माओवादी पार्टीले सशस्त्र द्वन्द्वकै समयमा त्यहाँबाट विस्तार गरी दरबाङसम्म पु¥याएको थियो । ‘‘द्वन्द्वकै समयमा माओवादीले विकासका काम पनि सँगसँगै अगाडि बढाएको थियो, दरबाङसम्म सडक पुर्याउन जनताबाटै झन्डै ३० लाख चन्दा सङ्कलन गरी खर्च गरिएको थियो,” माओवादी केन्द्रका जिल्ला संयोजकसमेत रहेका पूर्वसांसद गोविन्द पौडेलले भने । मुनासम्म पुगेको सडकलाई ढोरपाटन हुँदै बागलुङको बुर्तिबाङमा जोड्न सके मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन सक्ने सम्भावना रहेको पूर्वसांसद पौडेल बताउँछन्।


ADVERTISEMENT

# # #


मालढुङ्गादेखि बागलुङ हुँदै बुर्तिबाङसम्मको सडकको दूरीभन्दा बेनी–दरबाङ–मुना–ढोरपाटन हुँदै बुर्तिबाङ जोडिने दूरी झन्डै २० किलोमिटरले कम हुने भएकाले मध्यपहाडी लोकमार्गका सवारीसाधन म्याग्दी हुँदै ओहोरदोहोर गर्ने वातावरण सिर्जना गर्न सडकलाई सोही महत्वका साथ ट्र्याक विस्तार र स्तरोन्नति गर्नुपर्ने पौडेलको भनाइ छ । मुनादेखि ट्र्याक विस्तार गरी ढोरपाटन हुँदै बुर्तिबाङमा मध्यपहाडी लोकमार्गसँग जोडिन्छ भने ढोरपाटनबाट ट्र्याक विस्तार गरी रुकुमसम्म पनि जोडिने गरी योजना बनाइएको छ । हाल सडकको ट्र्याक विस्तार भएको मुनासम्म नै हिउँदको समयमा सवारीसाधन सञ्चालनमा आउने गरेको भए पनि सडकको मर्मत र स्तरोन्नति नहुँदा बर्खाको समयमा नियमितजसो सवारी अवरुद्ध हुने गरेको छ ।

भौगोलिक रुपमा जिल्लाको पश्चिम क्षेत्रका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेटको अभावमा यो सडक अहिलेसम्म ओझेलमा परिरहेको छ । लोकमार्गकै वैकल्पिक सडकका रुपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म केन्द्रीयस्तरबाट यस सडकलाई महत्वका साथ नहेरिएको स्थानीयवासीको गुनासो छ । सडक विस्तारका लागि भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने देखिन्छ । तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिङ्गो जिल्लालाई नै अन्याय भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताए।

हालै गृहगाउँ सिङ्गा तातोपानीमा आयोजित कार्यक्रममा उनले बेनी–दरबाङ–धारापानी–ताकम–मुना हुँदै ढोरपाटन सडकलाई बागलुङको बुर्तिबाङमा जोडेर सडकको स्तरोन्नति र कालोपत्र गर्न सके मध्यपहाडी लोकमार्गका सवारी म्याग्दी हुँदै ल्याउन सकिने बताएका थिए। “लोकमार्गले म्याग्दीलाई नछुँदा धेरै घाटा भएको छ, छोटो दूरी हुँदाहुँदै पनि प्राथमिकतामा नपर्नु दुःखद हो, अब आवश्यक बजेटको व्यवस्थापन हुन्छ, मध्यमहाडी मार्गको वैकल्पिक मार्गकै रुपमा यसलाई विकास गर्नुपर्छ,” उपाध्यक्ष श्रेष्ठले भने । उनले चालु आवमा यस सडकखण्डको विभिन्न योजनामा विनियोजन भएको बजेटको प्रभावकारी कार्यान्वयनमा जुट्न जिल्लास्थित सरोकारवालालाई आह्वानसमेत गरेका छन्।

यसै वर्ष बेनी–दरवाङ–धारापानी सडकखण्डको कालोपत्र र स्तरोन्नतिमा ८० करोड बजेट विनियोजन भइसकेको छ । सदरमु्काम बेनीदेखि दरवाङ हुदै ताकमको धारापानीसम्मको करिब २९ किलोमिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्रका लागि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति दिइसकेको छ । “यो बहुवर्षीय योजना हो, अहिलेको बजेटले झन्डै १८ किलोमिटर कालोपत्र हुने देखिन्छ, यद्यपि यो योजनाको प्रक्रियागत काम भइरहेको छ, त्यो पूरा भएपछि अनुमानसहित ठेक्का प्रक्रिया अगाडि बढ्छ,” सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर चन्द्रेश्वर शाहले भने । निकै महत्वको पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिन थालिएको छ ।

यो वर्ष सडक विभागले डिभिजन कार्यालय बागलुङमार्फत नै कार्यान्वयन गर्ने गरी दरबाङ–देवीस्थान–ताकम–ढोरपाटन जोड्ने सडकमा रु चार करोड आठ लाखको योजना सञ्चालन गर्दैछ । पहिले रु आठ लाख मात्रै विनियोजन भएर आए पनि हालै चार करोड थप बजेट आएको सडक डिभिजन कार्यालयले जनाएको छ । सो बजेटलाई मुनादेखि अगाडि नयाँ ट्र्याक निर्माणमा परिचालन गर्न स्थलगत भ्रमण गरी अनुमान गरिसकेको र छिट्टै विज्ञापन प्रकाशन गरी ठेक्का प्रक्रिया सुरु गरिने बताइएको छ ।

त्यस्तै जिविसमार्फत समेत दरबाङदेखि मुना हुँदै ढोरपाटन जोड्ने सडकलाई नै लक्ष्य गरी दुई योजना कार्यान्वयनको चरणमा रहेका छन् । जिविसबाट बेनी–दरबाङ–बिम–ताकम–लुलाङ–जलजला सडक योजनामा विनियोजित रु ६० लाख बजेटबाट म्याग्दीखोलादेखि ताकमसम्म नयाँ ट्र्याक निर्माण गरिने प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठले बताए । ‘‘अर्को शीर्षकमा पनि रु ६० लाख नै बजेट छ, त्यसलाई पनि दलीय सहमतिमा संशोधन गरेका छौँ, योजना स्वीकृत भएर आयो भने यसै सडकमा नै उक्त बजेट पनि परिचालन हुन्छ,” जिल्ला इन्जिनियर श्रेष्ठले भने ।

बहुआयामिक सडक भएकाले नयाँ सडक विस्तारसँगै पहिलेको सडकको स्तरोन्नतिमा पनि जोड दिइएको श्रेष्ठको भनाइ छ । लामो समयदेखि कच्ची र जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन हुँदै आएको बेनी–दरबाङ सडकमा यो वर्ष भने धेरै योजना सञ्चालित छन् । सडकखण्डअन्तर्गत दुखु खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । जिविसले रु दुई करोड २५ लाख ६० हजार आठ सय २३ को लागतमा २२ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गरेको हो । ठेक्का सम्झौता गरेको स्वच्छन्द गौचन निर्माण सेवा जेभीले कार्यक्षेत्रमा काम सुरु गरेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

विसं २०६७ मा सो स्थानमा मोटरेबल पुल निर्माण सुरु भए पनि डिजाइन गलत भएपछि रोकिएको थियो । पुरानो ठेक्का रद्द र पुन सर्वेक्षण गरेर पुल निर्माण हुन लागेको हो । त्यस्तै, बेनी–दरवाङ सडकअन्तर्गत फापरखेत र लाम्पाटाको पहिरो नियन्त्रणका लागि रु तीन करोड ९३ लाखमा ठेक्का सम्झौता भइसकेको छ । यी योजना बनेपछि बेनी–दरवाङ सडकमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

बेनी–दरबाङ सडक सञ्चालन भएपछि म्याग्दीलाई मात्रै होइन यसले बागलुङको पश्चिम भेगका नागरिकलाई समेत सुविधा पुगेको छ । दरबाङदेखि ओखरबोट–सोले हुँदै बागलुङको तमानसम्म सडक पहुँच विस्तार भइसकेपछि तमान र लामेलाका बासिन्दाले समेत यसै सडकलाई प्रयोग गर्दै आएका छन् । उनीहरुले आफ्नै जिल्लाको सदरमुकाम जानसमेत सोले–दरबाङ–बेनी हुँदै बागलुङ सदरमुकाम जाने भएकाले यो सडक उच्च महत्वको रहेको जनप्रिय मावि दरबाङका प्रअ दिवाकर सुवेदीले बताए ।

अहिले पनि म्याग्दीको बेनी र दरबाङबाट तमान क्षेत्रमा यातायात सेवा सञ्चालन हुँदै आइरहेको छ । यसले पनि यो सडकखण्ड म्याग्दीका लागि मात्रै नभई बहुजिल्लाका लागि उपयोगी र आवश्यक छ भन्ने कुराको पुष्टि गर्छ । त्यसैले मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको ट्र्याक विस्तारसँगै सडकको मर्मत, स्तरोन्नति र कालोपत्रका लागि आवश्यक बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा जुट्नुपर्ने देखिन्छ ।