काठमाडौं-नेपाल–भारत सीमाका अधिकांश सहायक सीमा स्तम्भ गायब छन् । दुवै देशको प्राविधिक टोलीले पुस दोस्रो सातादेखि सुरु गरेको सर्भे क्रममा यस्तो फेला परेको हो । भएका कतिपय स्तम्भ पनि जीर्ण छन् ।


ADVERTISEMENT


टोलीले साबिकका १ सय ७१ देखि १ सय ९७ नम्बर सीमा स्तम्भसम्म रेकी (पूर्व सर्भेक्षण) गरेको छ । उक्त क्षेत्रमा २ दर्जनभन्दा बढी सहायक स्तम्भ नभेटिएको संयुक्त सर्भेक्षण टोलीका सर्भेक्षक पूर्णबहादुर खड्काले बताए । ‘भेटिएका सीमा स्तम्भ पनि जीर्ण भइसकेका छन्,’ उनले भने, ‘सबै मर्मत गर्नुपर्ने अवस्थाका छन् ।’


ADVERTISEMENT

# # #


पुनर्वास नगरपालिकाको डोकेबजारबाट सुरु भएको सर्भेको काम पुनर्वास नगरपालिकाको खड्डाकंकडसम्म पुगेको छ । सीमा स्तम्भ जंगल र झाडी भएका ठाउँमा रहेकाले खोज्न ढिलाइ भइरहेको र कतिपय भेट्टाउनै नसकिएको खड्काले बताए ।

टोलीले डोकेबजारदेखि ब्रह्मदेवसम्मका सीमा स्तम्भको सर्भे गर्नेछ । ‘एक दिनमा एउटा पिल्लर पनि खोज्न सकिने अवस्था छैन,’खड्काले भने, ‘त्यही भएर समय धेरै लाग्ने देखिन्छ ।’ टोलीले एक महिनाभित्र पूर्वसर्भेक्षणको काम सक्ने भने पनि यही गतिमा काम भए दुई तीन महिना लाग्ने देखिन्छ ।

कैलालीका सीमा स्तम्भको पूर्वसर्भेक्षणपछि कञ्चनपुरमा काम सुरु भएको हो । टोलीमा नेपालका तर्फबाट नापी विभागका सर्भेक्षक खड्का र वृजेश शंखदेव छन् । गत फागुनमा पुनर्वास नगरपालिका ४ मा ह्युम पाइप राख्ने विषयमा भएको विवादमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा आनन्दबजारका गोविन्द गौतमको ज्यान गएको थियो ।

उनकै नामबाट आनन्द बजारको नाम परिवर्तन गरी गोविन्द बजार राखिएको छ । सरकारले गोविन्दलाई सहिद घोषणा गरेको छ । उक्त घटनापछि बन्द भएको उक्त नाका अझै खुल्न सकेको छैन । उक्त घटनापछि पूर्वी क्षेत्रमा काम गरिरहेको संयुक्त सीमा सर्भे टोली यहाँ आएर विवादित क्षेत्रमा काम सुरु गरेको हो ।