काठमाडौँ– निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द गरिने भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रातिमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसोमा बन्द गर्न लागिएको हो । ‘रातिमा बन्द गरेर काम गर्दा प्रगति हात लाग्न सकेन,’ सुप्रिम रौताहा निर्माण कम्पनीमा कन्ट्याक्ट म्यानेजर शिशिर कन्दङ्वाले भने, ‘काम गर्न निकै असहज भयो ।’

ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन जम्मा १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१।१ प्रतिशत मात्रैं काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिउँसोको समयमा ६ घण्टा सडक बन्द गरी १ महिना काम गर्न दिने बताए । ‘१ महिनाभित्र दिउँसोमा बन्द गरी काम गर्दा हुने प्रगतिको स्पष्ट कार्ययोजना, ट्राफिक म्यानेजमेन्ट र प्रतिदिनको प्रगति विवरण ३ दिन भित्र पेश गर्न भनेका छौं’, प्रमुख जिल्ला अधिकारी भट्टले भने,’अब १ महिना ट्रयालका रुपमा हेर्दछौं ।’

प्रजिअ भट्टले जोखिम रहेका ४ वटा पुलमा प्रहरी राखेर जाम हुन नदिन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तलाई निर्देशन दिए । यी पूल निकै जीर्ण र जोखिम छन् । प्रजिअ भट्टले यस्ता जोखिम भएका पुलमा ठूला गाडीहरुलाई एकैपटक वारपार गर्न नदिन पनि निर्देशन दिएका छन् ।