काठमाडौं-उद्योगीहरूले निर्माण सामग्रीको मूल्यवृद्धि गरेका छन् । उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका कारण अहिले सिमेन्ट र फलामे डन्डीको मूल्य आकासिएको छ । उद्योगीले उपभोक्ता मूल्यमा प्रतिबोरा सिमेन्टमा एक सय २० रुपैयाँ र फलामे डन्डीमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन् ।


ADVERTISEMENT


उद्योग एवं थोक बिक्रेताको मिलेमतोमा सिमेन्ट र फलामे डन्डीको मूल्यवृद्धि गरेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बताएको छ । १५ दिनको अवधिमा सिमेन्ट र फलामे डन्डीको मूल्य पाँचपटकसम्म बढाएको पाइएको विभागको भनाइ छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समयमा सिमेन्ट र फलामे डन्डीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि विभागले उद्योगपरिसरमै पुगेर अनुगमन गरेको थियो । अनुगमनबाट मूल्यवृद्धिको वास्तविकता बाहिर आएको हो । उद्योगीले विभिन्न बहानामा सिमेन्ट र फलामे डन्डीमा १५ दिनमा पाँचपटकमा गरी १७ प्रतिशतसम्म मूल्यवृद्धि गरेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । ‘उद्योगी र थोक बिक्रेताले आफूखुसी मूल्यवृद्धि गरेको भेटेका छौं,’ उनले भने, ‘आफैं क्लिंकर उत्पादन गरी सिमेन्ट तयार गर्ने उद्योगीले पनि विभिन्न बहानामा मूल्य बढाएको पाइएको छ।’

मूल्यवृद्धिको विषयमा अध्ययन गर्न विभागले विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठको संयोजकत्वमा अध्ययन टोली गठन गरेको थियो। श्रेष्ठको टोलीले उद्योगीले विभिन्न बहानामा मूल्यवृद्धि गरेको निष्कर्षसहितको प्रतिवेदन विभागलाई बुझाएको छ।

चार्टर्ड एकाउन्टेन्टसहितको टोलीले पहिलो चरणमा तराईका उद्योगमा अध्ययन गरेको थियो। त्यसपछि तराईबाट उपत्यका भित्रिने नाका धादिङका धार्केमा टोली परिचालन भएको थियो। धार्केमा सिमेन्ट र फलामे डन्डी बोकेर भित्रिने ट्रक नियन्त्रणमा लिएर टोलीले दोस्रो चरणको मूल्य विश्लेषणसम्बन्धी अध्ययन गरेको थियो। साथै थोक र खुद्रा निर्माण सामग्री पसलमा तेस्रो चरणको अध्ययन गरिएको थियो।

टोलीले सिमेन्टतर्फ मारुती, निर्माण, अग्नि, शिवम्, हेटौँडा, सालिमार ओपीसी र अम्बे ब्रान्डका उद्योगमा पुगेर मूल्य लिएको थियो। यसैगरी फलामे डन्डीतर्फ हामा, साखः र जगदम्बा ब्रान्डको अध्ययन गरेको थियो। ट्रक व्यवसायीले इन्धन मूल्यवद्धिको बहानामा अवैज्ञानिक रूपमा पाँच प्रतिशतदेखि १८ प्रतिशतसम्म भाडा वृद्धि गरेको भेटिएको दाहालले बताए। उनीहरूले प्रतिबोरा ढुवानी भाडामा २० रुपैयाँ बढाएको दाहालको भनाइ छ। ‘अनुगमनका क्रममा अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्यवृद्धि भनिए पनि क्लिंकर आफैं उत्पादन गर्ने उद्योगले पनि मनोमानी रूपमा मूल्य बढाएको पाइयो’, अनुगमन संयोजक श्रेष्ठले भने।

उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेको प्रतिवेदन सार्वजनिक भएपछि उद्योगीहरूले मूल्यका विषयमा पुनर्विचार गर्न सकिने बताएका छन्। विभाग र नेपाल सिमेन्ट उत्पादक संघबीच सोमबार भएको छलफलमा उद्योगीले मूल्यका विषयमा पुनर्विचार गर्न सकिने बताएका हुन्। मूल्यका विषयमा पुनर्विचार गर्न सिमेन्ट उत्पादक संघले तीन दिनको समय मागेको छ।