काठमाडौं-विवेकशील साझा पार्टी र नयाँ शक्ति नेपालले राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेका छन् । कांग्रेस, विवेकशील र नयाँ शक्तिको छलफल पछि प्रदेश नम्बर ३ मा कांग्रेस उम्मेदवार अधिवक्ता राधेश्याम अधिकारीलाई मतदान गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


विवेकशीलका प्रवक्ता सुर्यराज आचार्यले राष्ट्रिय सभा जस्तो गरिमामय संस्थालाई पार्टीका नेता र कार्यकर्ताको भागबण्डाको थलो बनाइएको अवस्थामा कांग्रेसले तुलनात्मक पमा अधिवक्ता अधिकारी जस्तो व्यक्तिलाई उम्मेदवार बनाएकोमा सकारात्मक रुपमा लिदै मतदान गर्ने निर्णय गरेको बताए ।


ADVERTISEMENT

# # #


प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा विवेकशील साझा पार्टी समेतको मतभारबाट विजयी हुने उम्मेदवारले पार्टीगत स्वार्थभन्दा माथि उठेर महत्वपूर्ण विषयमा राष्ट्रिय हितलाई सर्वोपरी राखी विवेकको आवाज अभिव्यक्त गर्नेछन् भन्ने विश्वास गरिएको छ । नयाँ शक्तिले पनि प्रदेश नम्बर ३ मा कांग्रेस उम्मेदवार अधिकारीलाई मतदान गर्ने निर्णय गरेको छ ।

प्रदेश ३ मा राष्ट्रिय सभामा कम्तिमा एक स्थान जित्न २३९२ मत आवश्यक पर्छ । जसमा विवेकशीलको जम्मा मतभार १४४ रहेको छ भने नयाँ शक्तिको ६६ मतभार रहेको छ । कांग्रेसको मतभार २२१४ रहेको छ। विवेकशील र नयाँ शक्तिले साथ दिएपछि अधिकारी राष्ट्रिय सभा सांसद हुने पक्का भएको छ ।