काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद ११ दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका सहरको भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा चिनियाँ प्रविधि, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, औद्योगिक विकास र डिजिटल प्रविधिका क्षेत्रमा भएका प्रगतिबारे अध्ययन तथा अनुभव आदानप्रदान गरिने जनाइएको छ ।
रास्वपाका विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख एवं टोली सदस्य डा. आनन्दबहादुर चन्दले चीनको प्रविधि र अनुभवलाई नेपालको आवश्यकता र क्षमताअनुसार कृषि, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा तथा उद्यमशीलताको विकासमा उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए ।
त्यस्तै, टोली सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल–चीनबीचको आपसी समझदारी र सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भ्रमणले आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गर्ने उनको अपेक्षा छ ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।


























