काठमाडौं-प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभामा उम्मेदवार नबनाएको भन्दै कांग्रेसमा युवा नेताहरू पार्टी नेतृत्वविरुद्ध आक्रोशित भएका छन् । काम गर्ने समयमा आफूहरूलाई जिम्मेवारी नदिएर अवसरबाट वञ्चित गर्न खोजिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । विद्यार्थी आन्दोलनमा लागेर गणतन्त्रका लागि सडकबाटै नारा लगाउने नेताले समेत तीनवटै निर्वाचनमा अवसर नपाएको उनीहरूको गुनासो छ ।


ADVERTISEMENT


केन्द्रीय सदस्य कल्याण गुरुङले एकै वर्ष तीनवटा ठूला निर्वाचन भए पनि युवालाई अवसर नदिएर पार्टीले अन्याय गरेको बताए । ‘पञ्चायत व्यवस्था फालेर प्रजातन्त्र, लोकतन्त्रदेखि गणतन्त्रका लागि सडकमा हामीले नारा लगायौँ, आन्दोलनको उभार ल्यायौँ,’ उनले भने, ‘युवा उमेर आन्दोलनको राप र तापमा बितायौँ, राजनीतिमा युवा उमेरको उत्कर्षमा काम गर्ने अवसरबाट हामीलाई टाढा राखेर पार्टीले अन्याय गर्‍यो ।’


ADVERTISEMENT

# # #


पार्टीले कुन मापदण्डका आधारमा टिकट बाँडेको भन्ने नै प्रस्ट नभएको गुरुङको भनाइ छ । ‘केन्द्रीय सदस्य, पार्टीका जिल्ला सभापति, दुःख गरेका, पूर्वसांसद, सहिद परिवारका सदस्य कि भिन्न क्षेत्रका विज्ञलाई टिकट दिने भन्ने नै प्रस्ट भएन, मनलाग्दी भयो । सातवटै प्रदेशमा समान मापदण्ड बनाएर टिकट नदिँदा हामीमाथि अन्याय भएको छ ।’

तिमीहरूको भाग्यमा लेखेको छैन भन्दिनु पर्‍यो कि न्याय दिनुपर्‍योः गुरुङ
केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, गुरुराज घिमिरे, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, मनमोहन भट्टराई तीनवटै निर्वाचनमा उम्मेदवार बन्नबाट वञ्चित रहे ।

राष्ट्रिय सभामा भए पनि टिकट दिएको भए चित्त बुझाउने पक्षमा रहेका उनीहरू पार्टीले अन्याय गरेको महसुस गर्न थालेका छन् । ‘हामी युवा नेताहरूलाई अवसर दिनुस् भनेर निरन्तर भन्दै आयौँ, तर दिइएन,’ गुरुङले भने, ‘पार्टीले कि तिमीहरूको भाग्यमा न्याय लेखेको छैन भन्दिनुपर्‍यो कि न्याय दिनुपर्‍यो । पार्टीका नेतासँग न्याय नमागे कोसँग माग्ने ?’ केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र बद्री पाण्डेलाई भने कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार बनाएको छ ।

नेविसंघका पूर्वसभापति गुरुङ ०५६ यताका सबै निर्वाचनमा महोत्तरीबाट प्रतिनिधिसभा र संविधानसभा निर्वाचनका लागि सिफारिस हुँदै आएका छन् । तर, अहिलेसम्म टिकट पाएका छैनन् ।

गणतन्त्रको नारा लगाउँदा जिब्रो टोक्ने नेताहरूले उपेक्षा गरे
अर्का युवा नेता गुरु घिमिरे ०६४ र ०७० को संविधानसभामा समानुपातिकतर्फ सिफारिस भएका थिए । तर, पार्टीले उनलाई सांसद बनाइएन । यसपटक मोरङबाट प्रदेश सभामा सिफारिस भए पनि उनलाई टिकट दिइएन ।

उनको सट्टा नेता महेश आचार्यका सम्धीलाई टिकट दिइयो । ‘राष्ट्रिय सभामै टिकट पाउनुपर्छ भन्ने दाबी मेरो होइन,’ घिमिरेले भने, ‘पहिले गणतन्त्रको कुरा गर्दा नेताहरू जिब्रो टोक्थे, यिनीहरूको दिमाग खुस्कियो भन्थे, हामीले लोकतन्त्र, गणतन्त्रका लागि भएको आन्दोलनलाई उचाइ दियौँ, तर अवसर दिएर पार्टीमा काम गर्ने भूमिका दिन आनाकानी गरेकोप्रति निराश छौँ ।’

यिनले पनि अवसर पाएनन्
प्रदेश ७ बाटबाट प्यारेलाल राना, बुद्धिसागर चौधरी, मानबहादुर महतो, कञ्चनपुरका बहादुरसिंह थापा, प्रदेश १ का सर्वधन राई, खोटाङका नरेश श्रेष्ठ, संखुवासभाका दीपेन श्रेष्ठ, सोलुखुम्बुका विनोद बस्नेतले पनि यसपटक अवसर पाएनन् । सुर्खेत टोपबहादुर राउत, बाँकेका कृष्ण कार्की, डडेल्धुराका केशव सिंह, बर्दियाका महेन्द्र शर्मा पनि उम्मेदवार बन्नबाट वञ्चित रहे । सिंह र शर्मा नेविसंघका पूर्वसभापति हुन् । ललितपुरका रामकृष्ण चित्रकार, काठमाडौंका प्रगतिमान रञ्जितले पनि टिकट पाएनन् ।

अवसर नपाएकालाई थन्क्याउने ठाउँ
राष्ट्रिय सभाका लागि राष्ट्रिय जीवनमा योगदान गरेका व्यक्तिसमेत छुटेको नेता गुरु घिमिरे बताउँछन् । ‘राष्ट्रिय सभा गलत काम नहोस्, सच्चाउने ठाउँ होस्, राष्ट्रमा दूरगामी प्रभाव पार्ने विषयमा जिम्मेवारीपूर्ण निर्णय होस् भनेर बनाइने हो,’ उनी भन्छन्, ‘तर, काम गरेकालाई छुटाउने अनि कतै अवसर नपाएकालाई थन्क्याउने गरी मात्र आफूखुसी उम्मेदवार छानियो ।’ केन्द्रीय समितिले महत्वपूर्ण योगदान गरेकालाई उम्मेदवार बनाउने घोषणा गरे पनि शीर्ष केही नेताहरू बसेर राष्ट्रिय सभाका उम्मेदवार टुंग्याएकोप्रति पनि कांग्रेसमा असन्तुष्टि छ ।

समीक्षा बैठकमा खरो ढंगले प्रस्तुत हुने तयारी
केही दिनअघि बसेको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षाको विषयमा थोरै मात्र कुरा उठाएका युवा नेताहरू अब बस्ने समीक्षा बैठकमा भने निर्मम रूपले प्रस्तुत हुने तयारीमा छन् । निर्वाचनको मुखमा बोल्दा राम्रो सन्देश नजाने भन्दै उनीहरूले समीक्षा बैठकमा आफ्ना असन्तुष्टिलाई उठाउने तयारी गरेका हुन् ।

कांग्रेसमा यी नेता थिए आकांक्षी
कुलबहादुर गुरुङ
मनमोहन भट्टराई
धनराज गुरुङ
कमला पन्त
गुरु घिमिरे
कल्याण गुरुङ
रत्ना शेरचन
केशव सिंह
महेन्द्र शर्मा