काठमाडौं-प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् ।


ADVERTISEMENT


केहीले आफूलाई मुख्यमन्त्रीका लागि अनुकूल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण (गुट) परिवर्तन गरेका छन् । आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएका छन्।


ADVERTISEMENT

# # #


एमालेले प्रदेश ५ मा बाहेक अन्य प्रदेशमा संसदीय दलको नेता छानेको छैन । प्रदेश ५ मा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका शंकर पोखरेल संसदीय दलका नेता छानिएका छन् । उनी दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रदेशसभा निर्वाचनअघि नै सिट बाँडफाँटका क्रममा एमाले र माओवादी केन्द्रबीच प्रदेश ५ मा गठबन्धनले बहुमत ल्याए पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । ६ वटा प्रदेशमा एमाले र माओवादी केन्द्र गठबन्धनले सरकार गठनका लागि स्पष्ट बहुमत ल्याएको छ । एमालेको प्रदेश १ र ३ मा एकल बहुमत छ । प्रदेश २ मा भने सरकार बनाउन वाम गठबन्धनलाई बहुमत छैन ।

गठबन्धन भए पनि एमाले र माओवादीबीच कुन–कुन प्रदेशमा सरकारको नेतृत्व गर्ने भन्ने विषयमा अन्तिम सहमति भएको छैन । एमालेले आइतबारसम्म प्रदेश सरकार गठनबारे माओवादीसँग सहमति गर्ने निर्णय लिएको छ । प्रदेश १ मा पार्टीको प्रदेश संयोजक रहेका केन्द्रीय सचिव भीम आचार्य र प्रदेश सहसंयोजक एवं पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका लागि प्रतिस्पर्धामा छन् । प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ, जसमा एमालेले ५१ सिट जितेको छ।

सचिव आचार्यले राजधानीमा शनिबार पत्रकारसँग भेटघाट गर्दै मुख्यमन्त्रीको दाबी गरेका छन् । उनले आफू मुख्यमन्त्री हुनुपर्ने आधार पनि पेस गरे । राईले पनि आफू नै मुख्यमन्त्रीका लागि योग्य भएको दाबी गर्दै आएका छन् ।