काठमाडौं-साझा यातायाताले नमुनाका रूपमा मुलुकमा पहिलोपटक सेमी–लो फ्लोर बस भित्र्याउँदै छ । साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले भन्सारको सम्पूर्ण प्रक्रिया पूरा गरेर उक्त बस यही साताभित्र उपत्यका ल्याइसकिने बताए ।


ADVERTISEMENT


४१ सिटको बस दृष्टिविहीन, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि सजिलो हुने खालको छ । यसमा दुइटा ढोका हुनेछन् । पछिल्लो ढोकामा फोल्ड गर्न मिल्ने र्‍याम्प (ह्वील चियर लान मिल्ने भर्‍याङ) हुनेछ ।


ADVERTISEMENT

# # #


अपांगता भएका व्यक्तिले ह्वील चियरसहित बसमा यात्रा गर्न सक्ने छन् । यसमा सीसीटीभी र डिस्प्ले टीभी रहने साझाले जनाएको छ । चालकले बस आइपुगेको स्थानबारे जानकारी गराउन मिल्ने एनाउन्स सिस्टम यसको अर्को विशेषता हो । यो बस खाल्डाखुल्डी भएको सडकमा गुडाउन मिल्दैन । ‘बस राजधानी आइपुगेपछि हेभी इक्युपमेन्ट कार्यालयका प्राविधिकबाट चेकजाँच गराइनेछ,’ पाण्डेले भने, ‘अनि रूट परमिट लिई सञ्चालनमा ल्याइनेछ ।’

साझाले बस खरिदका लागि यसवर्ष अन्तर्राष्ट्रिय बोलपत्र आह्वानगरेको थियो । त्यसमा भारतको अशोक लेल्यान्डले ठेक्का पाएको थियो । साझाका अनुसार उक्त बसको बजार मूल्य एक करोडभन्दा बढी छ । अशोक लेल्यान्डले सहुलियत रूपमा दिँदा ३५ लाख रुपैयाँमा राजधानी आइपुग्ने साझाले बताएको छ । कार्यकारी अधिकृत पाण्डेले बस आफ्नो मौज्दात रकमबाट खरिद गर्न लागिएको बताए । साझाले चार महिनाभित्र थप ४ डिलक्स बस खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाबाट खरिद गरेको सेयर क्रमशः ५ र १ करोडबाट पनि थप २० वटा सहरी बस खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । ‘अहिले मूल्यांकन भइरहेको छ,’ पाण्डेले भने, ‘यात्रुको चाप बढी भएकाले हाल सञ्चालन भइरहेका रूटमा पनि बस थप्ने योजना छ ।’

बस यातायात कार्यालयबाट माग भएका रूटमा सञ्चालन गरिने साझाले जनाएको छ । लगनखेल–चापागाउँ रूट, लगनखेल–सातदोबाटो–हरिसिद्धि–ठैव हुँदै गोदावरी र लगनखेल–ग्वार्कोचोक–सानोगाउँ–लुभु–लामाटार र लगनखेल–रत्नपार्क–महाराजगन्ज–सामाखुसी चक्रपथ–ग्रान्डी अस्पताल हुँदै टोखा रूटमा माग भएको पाण्डेले बताए । ‘बाटो विस्तार भएमा तत्काल उक्त क्षेत्रमा बस सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘सबै रूटमा सरकारले तोकेको भाडा दर कायम हुनेछ ।’

अहिले साझाका ४६ बस सञ्चालनमा छन् । थप २५ आइपुगेपछि ७१बस गुड्नेछन् ।