काठमाडौं(रासस/एएफपी)-भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार स्रोतबाट प्राप्त भएको छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएका छन् ।


ADVERTISEMENT


अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका खबरहरु प्राप्त भएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । गएका केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहेका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो । पछि उनीमाथिको अभियोग प्रमाणित नभएको भनेर मुक्त गरिएको बताइएको छ । उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए । थुनामुक्त भएपछि पनि उनले भ्रष्टाचारविरोधी कारबाही सुरु गरेका युवराज मोहमद बिन सलमानको कदमको आफूले समर्थन गर्ने बताएका छन् ।

राजकुमार तलाल साउदी अरेबियाका सबैभन्दा धनाढ्य बर्गका व्यक्तिहरुमा पर्दछन् । युवराज मोहमदले आफू सत्तामा आएपछि शक्ति सुदृढ गर्नका लागि आफ्ना विरोधीहरुलाई तह लगाउन सो भ्रष्टाचार विरोधी कारबाही अभियान चलाएका आरोप लगाइएको थियो ।

राजकुमार तलालजस्तै अरु पनि केही संभ्रान्त जेलबाट छुटेको बताइएको छ । कतिपय व्यक्तिहरुको आरोप प्रमाणित नभएको त कतिपय धरौटीमा छुटेको पनि बताएका छन् ।