काठमाडौं-एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएपछि मुख्यमन्त्रीका लागि नेताहरुको दौड सुरु भएको छ । प्रदेश १,३,४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ भने प्रदेश ६ र ७ मा माओवादीको मुख्यमन्त्री हुने सहमति भएको छ । सभामुखमा १, ३, ६ र ७ एमालेले पाउने भएको छ भने ४ र ५ मा माओवादीले पाउने भएको छ ।


ADVERTISEMENT


एमाले मुख्यमन्त्री पाएको प्रदेशमा माओवादीले उपसभामुख र माओवादीले मुख्यमन्त्री पाएको प्रदेशका एमालेको उपसभामुख हुने छन्। एमालेको स्थायी समिति बैठकले सर्वसम्मत भएका चुनावी प्रक्रियाबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको छ । पार्टीको यस्तो निर्णय आएपछि नेताहरु तीब्र लविङमा लागेका छन् ।


ADVERTISEMENT

# # #


प्रदेश १ मा भीम र शेरधन
प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य र पोलिव्यूरो सदस्य शेरधन राईको चर्को प्रतिस्पर्धा हुने देखिएको छ । माधव नेपाल समूहका आचार्य र अध्यक्ष केपी ओलीनिकट राई दुवैले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।

आचार्य र राईको घम्साघम्सीमा छिर्के दाउ लगाउने प्रत्यत्नमा जीवन घिमिरे पनि लागेका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरेर घिमिरेले आफू माधव नेपाल र झलनाथ खनाल समूहकबाट मुख्यमन्त्रीको दाबेदार भएको बताएका छन् ।

प्रदेश २ मा फोरम र राजपाको घम्साघम्सी
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच मुख्यमन्त्रीमा चर्को प्रतिस्पर्धा छ । २९ सिट जितेर ठूलो दल बनेको संघीय समाजवादी फोरमबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय कोषाध्यक्ष विजयकुमार यादव मुख्य दाबेदार रहेका छन् ।

यादव समुदायकै भएका प्रतिस्पर्धामा विजय यादव अगाडि देखिएका छन् । राजनीतिक समितिका सदस्य शैलेन्द्र शाह समेत दाबेदारका रुपमा देखिका छन् । फोरमले मुख्यमन्त्री लिएर सभामुखमा राजपालाई दिने सोचाई बनाएको छ । उता २५ सिट जितेको राजपाका महासचिव मनीष सुमन र नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको दाबेदारी गरेका छन् । उता राजपा अन्तिमसम्म मुख्यमन्त्रीको दाबेदारी नछोड्ने पक्षमा देखिएको छ ।

प्रदेश ३ अष्टलक्ष्मी र राजेन्द्र
प्रदेश ३ मा मुख्यमन्त्रीका धेरै आंकाक्षी देखिएका छन्। काठमाडौँ क्षेत्र नम्बर ८ ख बाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्य दाबेदार रहेकी छन् । पार्टी उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे मुख्यमन्त्री अर्का दाबेदार हुन् ।

धादिङ क्षेत्र नम्बर १ कबाट विजयी पाण्डे गुटपरिवर्तन गरेर मुख्यमन्त्रीको दौडमा लागेका छन् । नेपाल गुटबाट पाण्डे पार्टी उपाध्यक्षमा लडेका थिए । अष्टलक्ष्मी समेत नेपाल गुटकै हुन् । यहाँ मुख्यतः अष्टलक्ष्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ । अष्टलक्ष्मी र राजेन्द्रसँगै पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ, केशव स्थापित र अरुण नेपाल समेत मुख्यमन्त्रीका दाबेदारमा देखिएका छन् ।

एक मात्र महिला दाबेदार अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनुपर्ने लविङ महिलाहरुले गरिहेका छन् । काठमाडौं क्षेत्र नम्बर १० ख की प्रदेश सभा सदस्य रमा आलेमगर, प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीको विकल्प नभएको बताउँछिन् ।

‘महिलालाई हरेक निकाय ३३ प्रतिशत भन्ने अनि एक मुख्यमन्त्री नदिने हुन्छ, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनु नै पर्छ,’ उनले भनिन् । मु्ख्यमन्त्री कै दाबेदार मध्येबाट सभामुख र मन्त्री बन्ने सम्भावना छ ।

प्रदेश ४ मा दुई गुरुङ

प्रदेश ४ मा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र पोलिब्यूरो सदस्य किरण गुरुङ मुख्य दाबेदार छन् । पृथ्वी सुब्बा अध्यक्ष ओलीनिकट हुन् भने किरण गुरुङ पार्टी उपाध्यक्ष वामदेव गौतमनिकट हुन् । दुई गुरुङ मुख्यमन्त्रीका लागि जोडतोडका साथ लविङमा लागेका छन् । दुई गुरुङ बीच आधा आधा कार्यकाल मुख्यमन्त्री बनाएर मनाउने कोसिसमा केही एमाले नेताहरु लागेका छन् ।

प्रदेश ५ शंकर निर्विकल्प

प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र्निविकल्प देखिएका छन् । उनी प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा समेत निर्वाचित भइसकेको छ । प्रदेश ५ को सभामुख भने माअ‍ोवादीले पाउने छ ।

प्रदेश ६ मा महेन्द्र र नरेश
प्रदेश ६ मा माओवादीले मुख्यमन्त्री पाउने भएको छ । यहाँ माओवादीबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीको प्रतिस्पर्धामा रहेका छन् । पार्टी अध्यक्ष निकट शाही र नेता रामबहादुर थापा ‘बादल’ निकट भण्डारी दुवै मुख्यमन्त्रीको लविङ गरिरहेका छन । भण्डारी बादलसँगै वैद्य समुहबाट पाटीमा फिर्ता आएका हुन् ।

कुल ४० प्रदेश सभामा २० सिट जितेको एमालेका प्रदेश सभाका सांसदले पनि आफुुहरुले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरिरहेका छन् । एमालेबाट प्रदेश इन्चार्ज यमलाल कँडेल र पोलिव्यूरो सदस्य प्रकाश ज्वालाले पनि मुख्यमन्त्रीको दाबी गरेका छन् । एमालेका दाबेदारहरु सभामुख र मन्त्रीमा व्यवस्थापन हुने देखिएको छ ।

प्रदेश ७ वीरमान र झपडबहादुर
प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने छ । यहाँ राष्ट्रियस्तरका नेता प्रदेश सभामा नलडेका कारण प्रदेश र जिल्लास्तरका नेता मुख्यमन्त्रीका दाबेदार देखिएका छन् ।

कैलालीका पुराना माओवादी नेता वीरमान चौधरी र अछामका झपडबहादुर बोहरा मुख्यमन्त्री प्रमुख दाबेदार रहेका छन् । चौधरी कैलाली क्षेत्र नम्बर ३ खबाट विजयी भएका हुन् भने बोहरा अछाम क्षेत्र नम्बर १ (ख)बाट बिजयी भएका हुन् । थारु समुहबाट एक मात्र दाबेदार रहेकाले यहाँ चौधरीको पल्ला भारी रहेको छ।

डोटीका त्रिलोचन भट्ट र दार्चुलाका मानसिंह धामी पनि मुख्यमन्त्री दाबेदारका रुपमा देखिएका छन् । एमालेका प्रकाश शाहलाई सभामुखलाई व्यवस्थापन गर्न लागिएको छ ।