काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को वर्षदेखि पूर्णरुपमा लोडसेडिङ अन्त्य हुने तथा वर्षमा ६ महिना नेपालले विद्युत् बेच्न सक्ने बताएका छन् ।


ADVERTISEMENT


प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको एक कार्यक्रममा घिसिङ्ले तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्ने बताएका हुन् । अबको दुई तीन बर्षभित्र नेपालमा आफ्नै उत्पादनबाट १२ सय मेगावाट बिजुली थपिने भएकाले काठमाडौँमा विद्युतको डिमाण्ड (माग) बढाउन बिद्युत प्रणाली सुधार गरिने उनको भनाई छ । काठमाडौंमा रहेका ट्रान्सफरहरु ४ सय मेगावाट क्षमतामा रहेको र यसलाई स्तरोन्नती गरेर १ हजार मेगावाट क्षमताको बनाइने उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


घिसिङले भने,‘अब लोडसेडिङको चिन्ता छैन । हामीले विजुलीको माग र आपूर्तिलाई ब्यवस्थापन गरेका छौं । अहिले औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा लोडसेडिङ भइरहेको छ, अब त्यहाँ पनि लोडसेडिङ पनि घटाउँछौं ।’ गत बर्ष लोडसेडिङ अन्त्यका लागि भारतबाट नेपालको कूल बिद्युत खपतको ३५ प्रतिशत आयात गरेपनि यो बर्ष ३३ प्रतिशत मात्र आयात गरिएको उनले जानकारी दिए । पैसामा रुपान्तरण गर्दा अघिल्लो बर्ष १४ अरब बराबरको बिद्युत आयात भएकोमा यो बर्ष १५ अरब हाराहारी पर्न जाने उनले बताए ।

सुख्खायाम सकिन लागेकोले अब भारतबाट अहिले भइरहेको आयत परिमाण पनि घटाउँदा फरक नपर्ने उनले बताए । उनले यतिबेला कालीगण्डकी १ सय ४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत आयोजना पूर्ण रुपमा चलिरहेको बताउँदै उर्जा मन्त्रालयले अघि सारेको नेपालको पानी, जनताको लगानी नारा अन्र्तगत २५ सय मेगावाटको आयोजना अघि बढ्ने बताए ।

निर्देशक घिसिङले ६ महिना अवधिमा भएको चुहावट नियन्त्रणबाट ४ प्रतिशत विद्युत् अर्थात् १ अर्ब २५ करोड रुपैया बचत भएको जानकारी दिए ।

यसैबीच विद्युत सेवाको तीन स्तम्भका रुपमा रहेका – विद्युत सूरक्षा, किफायती उपयोग र चुहावट नियन्त्रणमा जनमानसमा बढि भन्दा बढि सचेतना र जागरुकता सञ्चार गर्न विद्युत प्राधिकरण र सोसाईटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपालको संयुक्त अगुवाईमा विद्युत सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग : देशको समृद्धिमा सहयोग’ नाराका साथ यही चैत्र २५ गते विद्युत सुरक्षा दिवसका रुपमा सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने भएको छ ।