काठमाडौं-नेकपा एमालेका सांसद एवं प्रदेश ३ को सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएको बताएका छन् । एमाले नेता अरुण नेपालले चुनावअघि नै प्रदेश सचिवालयले अष्टलक्ष्मीको पक्षमा निर्णय गरिसकेको भनेको प्रति बास्कोटाले आपत्ति जनाए । उनले भने– ‘म पनि सचिवालयमा छु, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने कुन सचिवालयले निर्णय गर्‍यो ? केको सचिवालयले गर्‍यो ? सचिवालयले त्यस्तो कुनै निर्णय गरेको छैन ।’


ADVERTISEMENT


अष्टलक्ष्मीलाई यदि मुख्यमन्त्री बन्ने ईच्छा लागेको भए पार्टीभित्र दलको नेताका लागि चुनावी मैदानमा आउन बास्कोटाले चुनौती दिए । उनले भने– ‘मुख्यमन्त्री बन्ने ईच्छा भए चुनाव लडे भैगो । जबजले चुनाव र प्रतिस्पर्धामा जाऊ भनेको छ, त्यही अनुसार चुनाव जितेर आउनुपर्छ ।’ एमालेको एकल बहुमत रहेको प्रदेश ३ मा सो पार्टीबाट मुख्यमन्त्रीका दाबेदार धेरैजना निस्किएका छन् । हालसम्म मुख्यमन्त्रीको दाबेदारमा अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेन्द्र पाण्डे, कैलाश ढुंगेल, सानु श्रेष्ठ लगायत मैदानमा छन् ।


ADVERTISEMENT

# # #


अष्टलक्ष्मी माधव नेपाल पक्षकी हुन् भने अरु केपी ओली पक्षबाट मुख्यमन्त्रीका दाबेदार हुन् । माधव नेपाल पक्षका रहेका राजेन्द्र पाण्डे हाल ओली गुटमा लागेका छन् । तर, राजेन्द्र पाण्डेलाई ओली गुटको भनिएकोमा काभ्रेका सांसद गोकुल बास्कोटाले आपत्ति जनाए । ‘कसले भन्यो राजेन्द्र पाण्डे ओली गुटको ?’ उनले प्रश्न गरे । प्रदेश नम्बर ३ मा केपी ओली पक्षको बहुमत रहेकाले अष्टलक्ष्मी वा राजेन्द्र पाण्डे कसैले दलको नेतामा चुनाव नजित्ने बास्कोटाले ठोकुवा गरे । उनले भने– ‘तर, जबज अनुसार चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व छान्नुपर्छ ।’

तीन नम्बरमा चुनाव, एक नम्बरमा सहमति ?

त्यसो त प्रदेश ३ का एमाले नेता बास्कोटाले जबजको भावना अनुसार चुनावबाटै दलको नेता छानिुनपर्ने बताइरहँदा उता प्रदेश नम्बर १ मा चाहिँ मुख्यमन्त्रीका दाबेदार रहेका अर्का नेता शेरधन राई सकेसम्म सहमतिबाटै मुख्यमन्त्री छान्नुपर्ने पक्षमा छन् । जसरी प्रदेश ३ मा चुनाव हुँदा माधव नेपालपक्षकी अष्टलक्ष्मी अल्पमतमा पर्ने सम्भावना छ, त्यस्तै प्रदेश १ मा चुनाव हुँदा ओलीपक्षमा शेरधन अल्पमतमा पर्ने सम्भावना छ ।

एमालेले एकल बहुमत पाएको प्रदेश ३ मा ओलीपक्ष बलियो छ भने प्रदेश १ मा चाहिँ माधव नेपाल पक्ष गणितीय हिसाबले अगाडि देखिन्छ । यही अवस्था देखेर प्रदेश १ मा शेरधन राईले सहमतिमै दलको नेता छानिनुपर्ने बताउँदै आएका छन् । तर, प्रदेश ३ मा भने ओली पक्षका नेताहरु मतदानबाटै दलको नेता छानिुनपर्ने अडानमा छन् ।

प्रदेश १ र ३ मा अर्को पनि एउटा समानता के छ भने एक नम्बरमा माधव नेपाल पक्षका नेताहरु विभाजित छन् र भीम आचार्यसँगै जीवन घिमिरेले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । यता ३ नम्बर प्रदेशमा पनि ओली पक्षका दाबेदारहरु विभाजित छन् । केशव स्थापित, सानु श्रेष्ठ, कैलाश ढुंगेललगायत धेरैजना दाबेदारहरु छन् ।