काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले दीर्घकालिन महत्व राख्ने नेपाल प्रहरीमा ठूलो संख्यामा अफिसरहरुको बढुवा गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


प्रहरीका १४ डीआईजी सहित अन्य अधिकृतहरु बढुवाका लागि भन्दै बुधवार नै प्रहरी प्रधान कार्यालयले ‘निर्वाचत आयोगको सहमतिका लागि’ गृह मन्त्रालयमा पत्राचार गरेको छ ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयका एक अधिकृतका अनुसार प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र दरबन्दी थप भएको ५ सहित १४ डीआईजी र सय जना हाराहारी इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न आयोगको सहमतीका लागि पत्राचार गरेको छ ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन आचारसंहिताका कारण प्रहरी प्रधान कार्यालयले सहमतिका लागि गृह मन्त्रालयमार्फत आयोगमा पठाउन पत्राचार गरेको हो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सहमतिका लागि पठाएको पत्र मन्त्रालयले आयोगमा पठाउने तयारी गरेको छ ।

सई बाट इन्स्पेक्टर बढुवाका लागि प्राविधिकतर्फबाट १० जनालाई बढुवा गर्न सहमति माग गरिएको छ । एसएसपी, एसपी र डिएसपी पदमा पनि उल्लेख्य संख्यामा बढुवाका लागी प्रहरी प्रधान कार्यालयले सहमती मागेको गृह मन्त्रालयका एक अधिकृतले जानकारी दिएका छन् ।

यता, केही दिनअघि मात्र सशस्त्र प्रहरीका पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको सरकारले रिक्त अन्य पदका लागि भने बढुवा प्रक्रिया अगाडी बढाएको छैन। बुधबार प्रहरी प्रधान कार्यालयबाट ठूलो संख्यामा बढुवा सहमतिका लागि पत्र आएपनि सशस्त्र प्रहरीको तर्फबाट भने त्यस्तो पत्राचार नभएको गृह मन्त्रालयका एक उप–सचिवले जानकारी दिएका छन् ।