काठमाडौं-महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका मस्कुर अहमद लारीलाई पक्राउ गरेको छ । लारीलाई बिहीबार बिहान उनको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले जानकारी दिए ।


ADVERTISEMENT


एभरेस्ट होटेलका मालिकसमेत रहेका लारी २०६९ सालदेखि फरार थिए । गत आइतबार मात्र एभरेस्ट होटेलको सेयर विवादको मुद्दामा सर्वोच्च अदालतले मस्कुर अहमद लारी र नज्मा मस्कुर अहमद लारीको पक्षमा फैसला सुनाएको थियो ।


ADVERTISEMENT

# # #


को हुन् लारी ?

लारी एभरेस्ट होटेलका संस्थापक मकबुल अहमद लारीका भतिज हुन् । पञ्चायतकालमै लखनउबाट काठमाडौं छिरेको लारी परिवारले सुरुमा मदिरा व्यवसाय गरेको थियो । ठेक्का लाएर मदिरा बिक्री वितरण हुने जमानामा मकबुल अहमद लारी मदिराका ठूला खेलाडीमा गनिने भएका थिए ।

मदिरा आपूर्ति गर्न उनले लारी डिस्टिलरी स्थापना गरेका थिए। राजपरिवारकै निकटस्थ बन्न सफल भए पनि लारी परिवारले नेपाली नागरिक बन्न भने रुचि देखाएनन् । मदिराबाट कमाएको पैसाले उनले एभरेस्टका साथै लखनउ र कोलकातामा होटेल व्यवसाय सुरु गरेका थिए ।

१९८१ देखि सञ्चालनमा आएको होटेलमा मकबुल अहमद लारीले करिब साढे तीन करोड रुपैयाँ पुँजी लगानी गरेका थिए । मकबुलले होटेलको आधा स्वामित्व आफ्नै भतिज मस्कुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए । पछि मकबुलचाहिँ लखनउमै बस्न थालेका थिए ।

मकबुलको निधनपछि उनको स्वामित्व आफैंले खरिद गरिसकेको भन्दै मस्कुरले भतिज मुजाफलाई सेयर नदिएपछि पारिवारिक विवाद सुरु भएको थियो ।