काठमाडौं – सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याउन लागेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री आज मंसिर २ गतेदेखि खुला हुने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त योजनालाई नेपाल धितोपत्र बोर्डले गत असोज ७ गते स्वीकृति दिएको थियो । १० वर्ष अवधि रहेको योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ तोकिएको छ । माग तथा आवेदनको अवस्थाअनुसार कोषको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ ।
योजनाको इकाई निष्कासन छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलले कुल आकारको १५ प्रतिशत रकम बीज पुँजीका रूपमा लगानी गर्नेछ ।
सिटिजन्स सुपर ५० को मुख्य उद्देश्य लगानीयोग्य ५० वटा उत्कृष्ट कम्पनी छनोट गरी तिनमा लगानी केन्द्रित गर्नु रहेको छ । योजनामार्फत विभिन्न कम्पनीको अध्ययन र छनोटमा व्यक्तिगत रूपमा कठिनाइ हुने लगानीकर्तालाई विशेषज्ञ व्यवस्थापनमार्फत विविधीकृत पोर्टफोलियोमा सामूहिक लगानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत इकाई खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इकाई बाँडफाँटपछि योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
सिटिजन्स क्यापिटलले यसअघि व्यवस्थापन गरेका सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल प्रदान गरेको कम्पनीले जनाएको छ । साथै, क्यापिटलले इक्रा नेपालबाट AMC Quality 3+ रेटिङ प्राप्त गरेको छ ।
सिटिजन्स क्यापिटलका अनुसार नयाँ योजनालाई व्यावसायिक लगानी व्यवस्थापन, संस्थागत सुशासन र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर सञ्चालन गरिनेछ ।


























