काठमाडौँ– नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा आज एक मिनेट मौन धारण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकको प्रारम्भमा निष्ठावान्, सादगी र संविधान जारी गर्ने अभियानका नेतृत्वकर्ता कोइरालाको तेस्रो पुण्य स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको पार्टी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले ‘नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४’ सुझावसहित सर्वसम्मत रुपमा पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।


ADVERTISEMENT

# # #


उक्त विधानको मस्यौदा तयार गर्न पार्टीले केही दिनअघि केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको संयोजकत्वमा मुख्य सचिव पौडेल र सचिव केशव रिजाल सदस्य रहेको समिति गठन गरेको थियो । बैठकले पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि वामदेव खनालका सुपुत्र एवं काँग्रेसका क्रियाशील सदस्य माधव खनालको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।