काठमाडौं-दुइटा नागरिकता विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीसँग एसएलसी प्रमाणपत्र पनि दुइटै रहेको प्रमाण प्राप्त भएको छ । तीमध्ये कम्तिमा एउटा किर्ते बनाएको देखिन्छ । प्रधानन्यायाधीश पराजुलीको नागारिकता र शैक्षिक प्रमाणपत्र विवाद धैरै अघिदेखि ‍चल्दै आए पनि अहिले यो विषय सर्वोच्च अदालतकै छानबिन दायरामा छ ।


ADVERTISEMENT


डा. गोविन्द केसीविरुद्ध अवहेलना मुद्दा सुनुवाइपछि सर्वोच्च अदालतले पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको छ। अदालतको छानबिनमा बल पुगोस् भनेर केही सातादेखि पराजुलीका शैक्षिक प्रमाणपत्र निरन्तर खोजी गरिरहेको छ । खोजी क्रममा उनीसँग एसएलसीका दुइटा प्रमाणपत्र रहेको तथ्य खुलेको हो ।


ADVERTISEMENT

# # #


पराजुलीको उमेर, शैक्षिक प्रमाणपत्र र नागरिकतासँग जोडिएको मुख्य प्रश्न उनले कुन विद्यालयबाट एसएलसी पास गरेका हुन् र एसएलसी पास गर्दा विद्यालय रेकर्डमा उनको उमेर कति थियो भन्ने हो ।एसएलसी प्रमाणपत्रमा पराजुलीको जे उमेर छ, सिद्दान्ततः त्यही उमेर त्यसपछिका शैक्षिक प्रमाणपत्रमा कायम रहन्छ । नागरिकतामा पनि एसएलसी पढ्दाकै उमेर रहन्छ । यस्तो हुन्थ्यो भने उनको उमेर विवादमा पर्ने थिएन ।

सतहमा उनको नागरिकताको उमेरमा विवाद देखिए पनि मूल विषय शैक्षिक प्रमाणपत्रमा रहेका फरक उमेर हुन् । अझ एक तह गहिरिएर हेर्ने हो भने, उनका शैक्षिक प्रमाणपत्र सही हुन् वा नक्कली भन्ने मूल विषय हो ।पछिल्ला दुई सातामा हामीले पराजुली पढेका र एसएलसी दिएका चितवन र वीरगन्जस्थित दुई विद्यालय पुग्यौं। काठमाडौंमा सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय र त्रिविमा पराजुलीका एसएलसी र आईएल पढ्दाका शैक्षिक प्रमाणपत्र खोतल्यौं ।

त्यसै क्रममा विद्यालय रेकर्डमा रहेको उनको जन्म मिति पहिलोपटक पत्ता लाग्यो ।

वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठबाट उनले २०२९ सालमा एसएलसी पास गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको रेकर्डमा देखिन्छ । उक्त रेकर्डअनुसार उनको जन्म मिति २०११ वैशाख १३ गते हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको रेकर्डमा रहेको उनको जन्म मिति २०११ वैशाख १३ गते नै पराजुलीका त्यसपछिका शैक्षिक प्रमाणपत्रमा किन कायम भएनन् ? किन नागरिकतामा यो जन्म मिति लेखिएन ? जबकि, यो जन्म मितिअनुसार सर्वोच्च अदालतमा पराजुलीको सेवा अवधि अझै लामो हुन्थ्यो । यो उमेरअनुसार २०७६ वैशाख १२ गतेसम्म उनी प्रधानन्यायाधीशका रुपमा काम गर्न पाउँथे । पछिल्लोपटक सर्वोच्चमा कायम उनको उमेरअनुसार पराजुली आउँदो वैशाख १५ गते सेवानिवृत्त हुँदैछन् ।

त्रिविमा आईएल पढ्दा पराजुलीले एलएलसीको कुन प्रमाणपत्र बुझाएर भर्ना भए भनेर हामीले खोज्यौं ।वीरगन्जस्थित नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी पास गरेको प्रमाणपत्र उनले त्रिविमा बुझाएका छैनन् । आईएल पासको शैक्षिक प्रमाणपत्रमा उनको उमेर २०१० वैशाख १६ गते लेखिएको छ । नेपाल राष्ट्रिय विद्यापीठको एसएलसी प्रमाणपत्र त्रिविमा बुझाएको भए उनको उमेर २०११ वैशाख १३ गते नै कायम हुन्थ्यो ।

त्यसो भए, उनी एसएलसीको कुन प्रमाणपत्र बुझाएर त्रिवि भर्ना भए ?
पराजुलीले त्रिविमा बुझाएको शैक्षिक प्रमाणपत्र रेकर्ड हामीले अहिलेसम्म भेट्टाएका छैनौं । तर, पराजुली आईएल भर्ना हुँदा त्रिविको ‘प्रोग्रेस रिपोर्ट’ प्राप्त गरेको छ । उक्त रिपोर्टमा पनि पराजुलीको जन्ममिति २०१० वैशाख १६ गते लेखिएको छ । रिपोर्टमा पराजुलीले एसएलसी पास गरेको जुन विवरण उल्लेख छ, त्यो चकित पार्ने खालको छ ।

रिपोर्टको अन्त्यमा पराजुलीले कुन विद्यालयबाट एसएलसी पास गरेको भन्ने उल्लेख छ । त्यसअनुसार पराजुलीले शारदा माध्यमिक विद्यालयबाट २०२६ सालमा एसएलसी पास गरेका हुन् । उनको एसएलसी सिम्बल नम्बर ११७ लेखिएको छ । जबकि, शारदा मावि चितवनको रेकर्डले उनले एसएलसी पास गरेको देखाउँदैन । २०२६ सालमा उनले त्यहाँबाट जाँच दिएका हुन्, तर फेल भएका हुन् ।

त्रिवि प्रोग्रेस रिपोर्टमा लेखिएको सिम्बल नम्बर ११७ पराजुलीले शारदा माविबाट एसएलसी दिँदाको सिम्बल नम्बर होइन । प्राप्त शारदा माविको रेकर्डमा पराजुलीको सिम्बल नम्बर ‘१०८६८ जेड’ उल्लेख छ । ११७ सिम्बल नम्बर पराजुलीको नेपाल राष्ट्रिय विद्यापीठ पढ्दाको हो । त्यो बेला उक्त विद्यापीठ एसएलसी बोर्डमा नभए पनि सरकारले एसएलसीसरह मान्यता दिएको थियो । त्यसैले त्यहाँको सिम्बल नम्बर फरक प्रकारको थियो ।

त्रिवि प्रोग्रेस रिपोर्टमा पराजुलीले एसएलसी पास गरेको विद्यालय भनेर दुइटा फरक स्कुलका विवरण समेटिएका छन् । यी फरक विवरणले पराजुलीले त्रिविमा बुझाएको शैक्षिक प्रमाणपत्रमा किर्ते गरेको प्रस्ट संकेत गर्छ । यसले पराजुलीले नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी पास गरेको पनि शंकाको घेरामा पारेको छ । उनले उक्त विद्यापीठबाट २०२९ सालमा एसएलसी पास गरेका भए २०३१ सालमा त्रिविमा भर्ना हुँदा त्यही शैक्षिक प्रमाणपत्र किन बुझाएनन् ?

शैक्षिक योग्यतासम्बन्धी विवाद उठ्दा उनी विद्यापीठको लब्धांकपत्र सार्वजनिक गर्ने गर्छन्, तर विद्यापीठकै चारित्रिक प्रमाणपत्र आजसम्म सार्वजनिक गरेका छैनन्, जसमा उनको जन्म मिति उल्लेख छ । आफ्नो नागरिकतामा पछिल्लोपटक सच्याएको उमेर २०१० वैशाख १६ गतेलाई पुष्टि गर्न उनले आईए पढ्दाको प्रमाणपत्र सार्वजनिक गरेका छन् । आईए पढ्दाको जन्ममिति कहाँबाट आयो भन्नेबारे अहिलेसम्म उनले कुनै पनि निकायमा प्रमाण पेस गर्न सकेका छैनन् ।

न्याय परिषदमा उनका तीनवटा जन्ममिति भेटिपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले एसएलसीकै प्रमाणपत्र हेर्न खोजेकी थिइन् । न्यायाधीशहरुको अभिलेख हुने ठाउँमा पराजुलीका शैक्षिक योग्यता प्रमाणपत्र भेटिएनन् । त्यसपछि कार्कीले तत्कालीन परिषद सचिवलाई पराजुलीका शैक्षिक प्रमाणपत्र खोजेर पेस गर्न आदेश गरेकी थिइन् । उक्त आदेशपछि पराजुलीले बुझाएका शैक्षिक प्रमाणपत्रमा विद्यापिठले दिने चारित्रिक प्रमाणपत्र थिएन ।-सेतोपाटीबाट