रत्ननगर– सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने स्रोता घटे पनि अझै रेडियोको महत्व भने अझै घटेको छैन । नेपालमा रेडियो स्थापना भएको छ दशक नाघिसकेको छ । सुरुसुरुमा सूचना र प्रविधिको विकास राम्ररी भइसकेको थिएन । तसर्थ उसबेला रेडियोको महत्व ठूलो थियो । अहिले पनि महत्वका हिसाबले एफएम रेडियो अगाडि नै रहेको बताउँछन् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शीतल महतो ।


ADVERTISEMENT


अनलाइन, पत्रिकाको आफ्नै पाठक र टेलिभिजनको आफ्नै दर्शक, स्रोता भए पनि रेडियोका छुट्टै स्रोता रहेको उनी औँल्याउँछन् । “सहज पहुँचका हिसाबले पनि सर्वसाधारणको भरपर्दो सूचनाको साधन रेडियो नै हो”, सचिव महतो भन्छन् । चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएमका स्टेशन म्यानेजर अमर प्रधान रेडियोको स्रोता घटे पनि महत्व अझै रहेको बताउँछन् । अझै पनि सस्तो, सहज र सरल सूचना प्राप्त गर्ने माध्यमका रुपमा रेडियो पहिलो नै भएको उनी दाबी गर्छन् ।


ADVERTISEMENT

# # #


विगतमा सूचना प्राप्त गर्न रेडियो नेपाल, बिबिसी, अल इन्डिया रेडियो सबैका सामु लोकप्रिय थिए तर पछिल्लो समय एफएम रेडियोको विकास र विस्तार भएपछि भने सर्वसाधारणमा सूचनाको पहुँच ह्वात्तै बढ्यो । त्यसपछि रेडियो नेपालभन्दा एफएम रेडियो सर्वसाधारणमा सहज सूचनाको माध्यम बन्न पुग्यो ।

पछिल्ला समयमा भने मोबाइलमै विश्वका सबै सूचना आउने भएकाले रेडियोका स्रोता भने घट्दो क्रममा नै छन् । अनलाइन माध्यम अहिले प्रभावकारी बन्दै आएको छ तर पनि सबै पत्रिका, अनलाइन माध्यमहरु गाउँको पहुँचमा पुगेका छैनन् । पुगे पनि खर्चिलो छ । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा शहरबजारमा रेडियो सुन्ने स्रोता घटे पनि अझै गाउँमा सूचनाको माध्यम रेडियो नै भएको बताउछन् ।

उनका अनुसार चितवनमा १४ वटा रेडियो छन् । केही रेडियो खुल्ने क्रममा छन् । त्यसमा आधाजस्तो सामुदायिक रेडियो छन् । अहिले मुख्यगरी जिल्लामा सिनर्जी र कालिकासहित त्रिवेणी एफएम, हाम्रो एफएम, रेडियो चितवन, अर्पण, ग्रेट एफएम, रिलेशन एफएम, रेडियो नारायणी, माडी एफएम, ड्रिम्स एफएमलगायत रेडियो सञ्चालनमा छ ।

चितवनको इतिहासमा २०५८ कात्तिक २६ गते पहिलो रेडियो सिनर्जी एफएम खुल्यो, अर्को वर्ष कालिका एफएम सञ्चालनमा आयो । त्यसपछि क्रमैसँग रेडियो खुल्ने क्रम शुरु भएको हो । सिनर्जी एफएम राजधानी बाहिर कै छैटौँ तथा नेपालको १४औँ रेडियोका रुपमा स्थापना भएको बताउँछन्, स्टेशन म्यानेजर प्रधान ।

त्यतिखेरको सूचनाको महत्वपूर्ण माध्यम रेडियो थियो । लोकतन्त्र स्थापनामा पनि रेडियोको आफ्नैखालको भूमिका रहेको सम्झनन्छन् प्रधान । पछिल्ला समयमा वडावडा, टोलटोलमा रेडियो खुल्ने चलनले अस्वस्थ्य प्रतिष्पर्धा निम्त्याएको प्रतिक्रिया दिन्छन् उनी ।

प्रविधिकै कारण रेडियोको आकर्षण केही घटेको भए पनि पहुँचमा भने अझै पहिलो नम्बरमै भएको स्टेशन म्यानेजर प्रधानको दाबी छ । पछिल्ला समयमा रेडियो जथाभावी खुल्ने क्रम रह्यो । कार्यक्रमको गुणस्तरमा ध्यान नदिँदा रेडियोप्रति वितृष्णा छ । रेडियोले स्थानीय मुद्दा उठाउन नसकेको पत्रकार महासंघ चितवनका अध्यक्ष खतिवडाको अनुभव छ ।

यस्तै राजधानीका रेडियो सञ्जालका कार्यक्रम बजाउने, काठमाडौँबाटै उत्पादित कार्यक्रम र समाचार प्रस्तुत गर्ने गर्दा रेडियोको स्थानीयतामा प्रश्न उब्जेको छ । समुदायका लागि भनेर खोलिएका सामुदायिक रेडियो व्यावसायिक रेडियो झैँ स्थानीयवासीलाई छाडेर राष्ट्रिय कार्यक्रममा ध्यान दिने गरेका छन् ।

वि।सं २०६५ चैत १९ मा स्थापना भएको रेडियो त्रिवेणीका स्टेशन म्यानेजर अर्जुन अधिकारी गाउँ क्षेत्रमा रेडियोका स्रोता बढेको र शहरमा घटेको बताउँछन् । रेडियो प्रत्यक्ष जनतासँग जोडिएकाले महत्व भने अझै रहेको उनको भनाइ छ ।

“कार्यक्रमहरु जुधाउने गर्दा रेडियोको आफ्नो पहिचान के त, कसैको छैन, एउटाले कार्यक्रम ग¥यो अर्कोले त्यस्तै कार्यक्रम ल्याउँछ”, अधिकारीले भने, कार्यक्रमसमेत काठमाडौँमुखी छन् ।” दक्ष जनशक्ति अभावले गुणस्तरीयता कमजोर रहेको उनको टिप्पणी छ ।

अझै भाषाशैली, स्थानीय भाषा तथा शुद्ध उच्चारणमा समेत रेडियोमा ठूलो समस्या रहेको पाइन्छ । नयाँ पुस्ताले रेडियो धान्नुपर्ने अवस्था आएकाले पनि गुणस्तरमा कमजोर भएको बताउँछन् अध्यक्ष खतिवडा ।
आफूहरुले रेडियोको गुणस्तरमा कुनै कञ्जुस्याईं नगरेको बताउँछन् रेडियो सिनर्जीका स्टेशन म्यानेजर प्रधान ।

रेडियो त्रिवेणीका स्टेशन म्यानेजर अर्जुन अधिकारी विज्ञापन बजारमा समेत रेडियोको अस्वस्थ्य प्रतिष्पर्धा रहेको औँल्याउछन् । नेपालमा २००३ सालमा रेडियो प्रसारण शुरु भएको थियो । वि।सं २०५२ देखि भने एफएम रेडियो शुरु भयो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले पारित गरेपछि हरेक वर्ष फेब्रुअरी १३ अर्थात् आजको दिनमा रेडियो दिवस मनाइँदै आइएको हो ।नारायण ढङ्गाना/रासस