काठमाडौं– नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । आज रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता राईले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै राईले एमाले र माओवादी केन्द्रबीचको एकता पनि चाँडै घोषणा हुने विश्वास दिलाए । उनले भने, ‘दुई पार्टीबीचको एकताबारे अब शंका तथा उपशंका गर्ने कुनै ठाउँ छैन, एकता छिट्टै घोषणा हुन्छ, हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यू अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ ।’


ADVERTISEMENT

# # #


उनले आफूले यसअघि पनि पटक–पटक ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने भनेर सार्वजनिक रुपमै बोलिसकेकोले अब पनि त्यही हुने जिकिर गरे । उनले आफूले फागुन ३ गते दिउँसो ३ बजे प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथग्रहण लिने पनि उनले जानकारी दिए । त्यस्तै, उनले सोही दिन आफूले सानो र छरितो क्याविनेट विस्तार गर्ने जानकारी दिए ।

राईले आफूले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि कामका प्राथमिकताहरु सार्वजनिक गर्ने जनाए । उनका अनुसार आफ्नो पहिलो प्राथमिकतामा प्रदेश नम्बर १ लाई भ्रष्टाचारमुक्त बनाउने रहेको छ ।उनले भने,‘हामी भ्रष्टाचारको विरुद्धमा कठोर कदम चाल्छौं, भ्रष्टाचारलाई हामी शुन्यमा झार्छौं।’

त्यस्तै उनले उक्त प्रदेशलाई सुशासन र समृद्ध बनाउने पनि जनाए । उनले भने,‘भ्रष्टाचारमुक्त पछि हाम्रो अर्को योजना विकास र समृद्धि नै हो, त्यसको लागि गुरुयोजना अघि बढाउँछौं।’ लउनले एक नम्बर प्रदेश कृषि, पर्यटन, जलविद्युत सबै हिसावले सम्भावना बोकेको प्रदेश भएकोले सोही अनुसार आफूले काम गर्ने जनाए । राईले औद्योगिक विकास र आईटीको पनि विकासमा विशेष ध्यान दिइने समेत बताए ।