काठमाडौं – एमाले अध्यक्ष केपी ओली १८ महिनापछि प्रधानमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका उनीविरुद्ध माओवादी र कांग्रेसले अविश्वास प्रस्ताव ल्याएपछि उनको कार्यकाल १० महिनामा सकिएको थियो । अघिल्लो साउनमा सिंहदरबारबाट बिदा भएका उनी माओवादीकै समर्थनमा सिंहदरबार पुगेका छन् ।


ADVERTISEMENT


एमालेका १२१ र माओवादी केन्द्रका ५३ सहित १७४ सांसदको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्री निर्वाचित हुन १३८ सांसदको समर्थन आवश्यक पर्छ । आजको नयाँ पत्रिकामा खबर छ ।


ADVERTISEMENT

# # #


नेपालको प्रस्तावमा ओली सर्वसम्मत

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पार्टी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावमा ओली सर्वसम्मत दलको नेता चयन भएको केन्द्रीय सदस्य तथा सांसद शेरबहादुर तामाङले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै नेपालले राष्ट्रिय हितलाई ध्यान दिँदै नयाँ सरकारले समृद्धिलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिए ।

चुनाव घोषणापछिका अवैधानिक निर्णय खारेज हुने
कार्यदलले निर्वाचन घोषणायता शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति, दूरगामी महत्वका सबै निर्णय मन्त्रिपरिषद्को निर्णयबाट खारेजका लागि प्रस्ताव गरेको छ । त्यस्तै, मुलुकको अर्थतन्त्रले धान्न नसक्ने गरी सामाजिक सुरक्षा भत्तालगायतका विषयमा गरेका निर्णय फिर्ता गर्ने प्रस्ताव छ ।

२११ वर्ष: ३८औँ व्यक्ति, ६२औँ प्रधानमन्त्री

नेपालको राजनीतिक इतिहासले भीमसेन थापालाई पहिलो प्रधानमन्त्री मान्दछ । उनी वि.सं. १८६३ मा मुख्तियार (अहिलेको प्रधानमन्त्रीसरह)को पदमा नियुक्त भएका थिए । त्यसयता वि.सं. १९०३ सम्म ६ जना प्रधानमन्त्री भएका थिए । १९०३ मा जंगबहादुर प्रधानमन्त्री भएपछि १०४ वर्षीय राणा शासनमा थप नौजना प्रधानमन्त्री भए । ००७ मा प्रजातन्त्र स्थापित भएपछि ०४६ सम्म १२ जना प्रधानमन्त्री भए । ०४६ यता १० जना नेता प्रधानमन्त्री भए । यसरी जम्मा ३८ जना प्रधानमन्त्री भए पनि पटकपटक दोहोरिँदा ६२ पटक शपथ लिएका छन् । यसरी ओली प्रधानमन्त्रीको कुर्सीमा बस्ने ३८औँ व्यक्ति र ६२औँ सरकार प्रमुख हुन् ।