तपाईंलाई कस्ता–कस्ता चस्माबारे थाहा छ ? पोलोराइज्ड, एन्टी–ग्लर, मिरर कोटेड, चेन्जेबललगायत चस्माबारे अधिकांशलाई जानकारी नै होला । तर, चीनमा नयाँ प्रकारको चस्मा चर्चामा छ । यो चस्माले अपराधी चिन्न सक्छ ।


ADVERTISEMENT


चिनियाँ प्रहरीले अपराधी पहिचान गर्न सक्ने चस्मा लगाउन सुरु गरेका छन् । हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामेरा भएको चस्मा अपराध अनुसन्धानमा संलग्न चिनियाँ प्रहरीलाई दिन सुरु गरिएको छ ।


ADVERTISEMENT

# # #


यो चस्माको सहायताले प्रहरीले अपराधी पहिचान गर्न सघाउ पुर्‍याउने बताइएको छ । हालसम्म यही चस्माको सहयोगले प्रहरीले सातजना अपराधी पक्राउ गरेको खबर चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । झेङझाउ प्रान्तको पश्चिम रेल स्टेसनमा केही प्रहरीलाई यो चस्मा लगाएर गस्तीमा खटाइने गरिएको छ ।

चस्मामा रहेको फेसियल रिकग्निसन प्रविधिले मानिसको अनुहार स्क्यान गर्छ । यो चस्मा लगाएको प्रहरीको आँखामा पर्ने व्यक्तिको अनुहार प्रहरीको रेकर्डमा रहेका हरेक अपराधीको अनुहारसँग अटोमेटिक रुजु हुन्छ । कुनै अपराधीसँग ती व्यक्तिको अनुहार मेल खाएमा सम्बन्धित प्रहरीले तत्काल जानकारी पाउँछन् र पक्राउ गर्न सक्छन् । किनभने, चस्मालाई वायरलेस चिपको सहायताले प्रहरीको केन्द्रीय कम्प्युटर डाटाबेससँग जोडेर सूचनालाई चुस्त पारिएको छ ।

चीन अहिले विश्वमा अनुहार पहिचान गर्न सक्ने फेसियल रिकग्निसन प्रविधिको विकासमा एक नम्बरमा छ ।