काठमाडौं – बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन अवधिका लागि उक्त रकम बोलकबोलमार्फत संकलन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ । यसका लागि न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको २०० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ । बोल रकम भने १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ ।
निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलपत्रलाई पहिलो प्राथमिकता दिइनेछ । समान ब्याजदरमा कुल आह्वान रकमभन्दा बढी माग भएमा समानुपातिक अर्थात् प्रो–रेटाका आधारमा रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन् । संकलित निक्षेपको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिनेछ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता खिच्ने गर्दछ । यसले वित्तीय प्रणालीमा तरलताको अवस्था व्यवस्थापन गर्दै मौद्रिक नीतिको कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिन्छ ।


























