काठमाडौं-सर्वसाधारणले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउने आशा गरेका छन । शुक्रबार बिहान प्रधानमन्त्री ओलीलाई बधाई दिन बालकोटस्थित उनको निवास पुगेका सर्वसाधारणले ओली नेतृत्वको सरकारले मुलुकमा दीगो शान्ति स्थापना गर्ने तथा जनताको चाहनाअनुसार मुलुकलाई समृद्ध बनाउने विश्वास व्यक्त गरेका हुन ।


ADVERTISEMENT


त्यस अवसरमा उनीहरुले पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीले राष्ट्रियताको पक्षमा लिएको अडानको खुलेर प्रसंशा समेत गरेका थिए ।


ADVERTISEMENT

# # #


ओलीले प्रधानमन्त्रीको रुपमा २०७२ सालमा नौं महिना मुलुकको नेतृत्वको गर्दा भारतीय नाकाबन्दीको डटेर सामना गर्दै मुलुकको राष्ट्रियताको पक्षमा अडान लिएका थिए । बिहीबार पुनः मुलुकको प्रधानमन्त्री बनेका ओलीले मुलुकलाई स्वाभिमानका साथ अघि बढाउने सर्वसाधारणले विश्वास गरे ।

उनीहरुले ओलीले निर्वाचनको बेलामा समृद्धिको नारा दिएकै कारण आफूहरुले ओली नेतृत्वको बाम गठबन्धनलाई निर्वाचनमा विजयी गराएको पनि स्मरण गराएका छन् । ओली राष्ट्रवादी नेता भएकाले अब विकास, निर्माणको कामले पनि तीब्रता पाउने उनीहरुको बुझाई छ । मुलुकमा स्थायित्व कायम हुने र ओली नेतृत्वको सरकारले विकास, निर्माणको कामलाई तीब्रता दिने सर्वसाधारणको भनाई छ ।

सर्वसाधारणले नवनियुक्त प्रधानमन्त्री ओलीले बोलेका कुरा अब गरेर देखाउने बेला आएको पनि बताएका छन । एमाले अध्यक्ष ओलीले बाम गठबन्धन नेतृत्वलाई निर्वाचनमा विजयी गराए मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता जनतामाझ गरेका थिए । सर्वसाधारणले ओली आफ्ना ती भनाईलाई गराईमा रुपान्तरण गर्न अब सक्षम हुनेमा आशामा छन् ।

ओलीका लागि जनताका अपेक्षालाई पूरा गरेर अघि बढनुको विकल्प नरहेको विश्लेषण पनि गर्न थालिएको छ । माओवादी केन्द्रसँग मिलेर सरकार बनाएका प्रधानमन्त्री ओलीले पनि बिहीबार साँझ पदभार ग्रहण गर्दै मुलुकमा शान्ति र समृद्धि स्थापना गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।