विराटनगर – कोशी प्रदेश प्रहरीले उदयपुरमा कार्यरत प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेलाई २०८३ साल कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत प्रहरी निरीक्षक तोलाङ्गेले अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा लागूऔषध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो ।


ADVERTISEMENT

# #


तोलाङ्गेले उदयपुरको बेलका नगरपालिका–३ स्थित गिदेरी खोलाको कासघारीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएर फरार रहेका प्रतिवादी समिर परियारलाई खोजतलास गरी पक्राउ गर्न सफल भएका थिए ।

त्यस्तै, बेलका नगरपालिका–९ रामपुर बजारमा पैदलयात्री ५६ वर्षीया लक्ष्मिमाया राईलाई ठक्कर दिएर मृत्यु भएपछि फरार भएको बोलेरो गाडी र चालक प्रेमबहादुर विकलाई पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए ।


ADVERTISEMENT

#
#


यसैगरी, बेलका नगरपालिका–७ स्थित पित्लाङ जंगलबाट लुकाइछिपाइ राखिएको २ हजार ८२० किलो ५०० ग्राम गाँजा बरामद गर्नुका साथै करिब ६ रोपनी क्षेत्रफलमा लगाइएको २ हजार २०० गाँजाका बोटसमेत फडानी गरी नष्ट गरिएको थियो ।

अपराध अनुसन्धान तथा लागूऔषध नियन्त्रणमा अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ भएर उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कन गर्दै उनलाई कात्तिक महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।