काठमाडौँ — अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडक ८ लेनको बन्ने भएको छ ।


ADVERTISEMENT


सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको आठ लेन सडक निर्माण सम्बन्धी सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नुपर्ने माग गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप बढेर जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले छिटो निर्माण हुनुपर्ने माग गरेको हो ।


ADVERTISEMENT

# # #


सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सूर्यविनायक–धुलिखेल आठ लेन सडक विस्तारमा जापान सरकारले सहयोग गर्ने बताए । श्रेष्ठका अनुसार यो सडक विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ । जापान सरकारको अनुदान र सडक विस्तारका लागि जापानले ०।२ प्रतिशत ब्याजमा ऋण दिने प्रतिबद्धता जनाएकाले छिट्टै विस्तार गर्ने तयारी भएको छ । सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जापानले गरेको छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक–धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएकाले तीब्र गतिमा बिस्तार गरिनुपर्ने बताए । सुर्यविनायक–जगाती खण्डमा सवारी चाप कम गरी सहजरूपले सवारीसाधन सञ्चालनका लागि सडक विस्तारले निकास दिनेछ, यो नाकामा सडक साँघुरो भएकाले पलाँसे–साँगा भञ्ज्याङ खण्ड र कोटेश्वरमा सुरुङ निर्माण गर्ने योजनासमेत अगाडि बढेको बस्नेतले बताए ।

पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्ती रहेकाले आठ लेन बनाउन समस्या देखिँदा सुरुङमार्गको योजना बनाइएको छ । सडक आठ लेनको भए पनि सुरुङमार्ग भने चार लेनको हुने महाशाखा प्रमुख श्रेष्ठले बताए । सूर्यविनायक–कोटेश्वर खण्डमा पनि जाम हटाउन सुरुङ मार्ग बनाउन अध्ययन भइरहेको उनले बताए ।

यो सडकबाट चीनसँगको तातोपानी नाका, अरनिको र बिपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुली, बर्दिबासलगायत जान साधनकालागि सहज हुनेछ ।